रोयल सल्युटदेखि चिभास रिगलसम्मका मदिरा बेच्ने एसपीजी ट्रेडिङको वार्षिक व्यापार १ अर्ब ६६ करोडमाथि
काठमाडाैं । विश्वप्रसिद्ध मदिरा ब्रान्डहरूको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक एसपीजी ट्रेडिङ प्रालिको व्यापारिक ग्राफ पछिल्लो समय स्थिर लयमा देखिएको छ।
सन् २०१२ मा स्थापना भएको यस कम्पनीले आर्थिक वर्ष २०२५ मा १ अर्ब ६६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेकाे छ ।
यसअघि आर्थिक वर्ष २०२४ मा १ अर्ब ६२ करोड ९० लाख रुपैयाँ व्यापार गरेको कम्पनीको आम्दानीमा सामान्य वृद्धि देखिएको हो ।
चुनौतीपूर्ण आर्थिक अवस्था र ग्रे मार्केट (अवैध आयात) को प्रभावका बावजुद कम्पनीले सन् २०२३ मा १ अर्ब ६६ करोड ५० लाख र सन् २०२२ मा १ अर्ब ६० करोड १० लाख रुपैयाँको कारोबार गर्दै आफ्नो बजार हिस्सा सुरक्षित राखेको छ ।
विशेषगरी सेप्टेम्बर-अक्टोबरको चाडपर्वको सिजनमा कम्पनीको व्यापारमा उल्लेख्य चमक आउने गरेको छ ।
व्यापारिक परिमाण स्थिर रहे पनि कम्पनीको सञ्चालन नाफा मार्जिनमा भने एकरूपता देखिएको छ। सन् २०२४ र २०२५ दुवै आर्थिक वर्षमा कम्पनीको यस्तो मार्जिन ९ प्रतिशतमा कायम रहेको छ ।
सन् २०२३ मा ६ प्रतिशतमा खुम्चिएको मार्जिनमा सुधार आउनुलाई सकारात्मक मानिएको छ । यद्यपि, आयात शुल्कमा भएको भारी वृद्धि र मदिराजन्य वस्तुमा लगाइने उच्च करका कारण नाफाको प्रगतिको लय चुनौतीपूर्ण बन्न सक्ने प्रतिवेदनले औँल्याएको छ ।
कम्पनीको वित्तीय अवस्था र ऋण व्यवस्थापन पक्ष सन्तोषजनक देखिएको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको कुल बाह्य दायित्व र खुद सम्पत्तिको अनुपात १.० गुणा रहेको छ, जुन २०२४ मा १.१ गुणा थियो ।
यस्तै, कुल ऋण र सञ्चालन नाफाको अनुपात २.८ गुणा कायम भएको छ । पछिल्लो दुई वर्षदेखि लाभांश वितरण नगरेका कारण आन्तरिक पूँजी मजबुत हुँदा ऋणको भार धेरै बढ्न नपाएको देखिन्छ ।
ब्याज तिर्ने क्षमताका आधारमा पनि एसपीजी ट्रेडिङ बलियो देखिएको छ। सन् २०२५ मा कम्पनीको ब्याज कभरेज अनुपात सुधारिएर ४.९ गुणा पुगेको छ, जुन सन् २०२४ मा ३.९ गुणा मात्र थियो ।
तर, कम्पनीको कार्यगत पूँजी चक्र भने केही खर्चिलो बन्दै गएको छ। सन् २०२४ मा ४५ प्रतिशत रहेको कार्यगत पूँजी र सञ्चालन आम्दानीको अनुपातसन् २०२५ मा बढेर ५० प्रतिशत पुगेको छ । सामान आयात गर्न लाग्ने लामो समय र बजारबाट पैसा उठ्न लाग्ने समय (डेटर डेज) ९० बाट बढेर ११३ दिन पुग्नु कम्पनीका लागि चुनौती बनेको छ ।
कम्पनीले हाल कुल ८० करोड रुपैयाँ बराबरको अल्पकालीन बैंक कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीको उक्त कर्जा सीमाका लागि ‘ए थ्री’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीसँग समयमै वित्तीय दायित्व पुरा गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्दछ।
वैदेशिक मुद्रा विनिमय दरमा हुने उतारचढाव र मध्य-पूर्वमा जारी तनावका कारण आपूर्ति श्रृङ्खलामा पर्न सक्ने प्रभाव कम्पनीका लागि मुख्य जोखिम हुन् । साथै, आयातमा आधारित व्यवसाय भएकाले सरकारको कर नीतिमा हुने परिवर्तनले व्यापारमा प्रत्यक्ष असर पार्ने देखिन्छ ।
नेपालको प्रतिष्ठित व्यावसायिक घराना ‘शारदा ग्रुप’ अन्तर्गत रहेको यस कम्पनीमा सन्दीप कुमार शारदा, गौरव शारदा र प्रदीप कुमार शारदाको १८.३३ प्रतिशतका दरले शेयर हिस्सा रहेको छ भने बाँकी ४५ प्रतिशत शेयर अध्यक्ष राधेश्याम शारदा सहित सौरभ र अमित कुमार शारदाको नाममा छ ।
यस कम्पनीले एब्सोलुट, ब्यालेन्टाइन्स, चिभास रिगल, द ग्लेनलिभेट र रोयल सल्युट जस्ता प्रिमियम मदिरा ब्रान्डहरू नेपालभर वितरण गर्दै आएको छ ।













