गोदावरी स्टिल्सको व्यापार ५ अर्ब ११ करोडमा खुम्चियो, एकै वर्ष २१.७७ प्रतिशतको गिरावट
काठमाडाैं। नेपालको प्रतिष्ठित व्यावसायिक घराना ‘गोदावरी बिजनेस अर्गनाइजेसन’ अन्तर्गत सञ्चालित गोदावरी स्टिल्स लिमिटेडको व्यापारिक ग्राफ पछिल्लो समय केही खुम्चिएको देखिएको छ ।
आर्थिक वर्ष २०२५ मा कम्पनीकाे व्यापार २१.७७ प्रतिशतले खुम्चिएकाे छ। आर्थिक वर्ष २०२४ मा ६ अर्ब ४० करोड ६० लाख रुपैयाँ व्यापार गरेको कम्पनी २०२५ मा ५ अर्ब ११ करोड रुपैयाँ बराबरको व्यापार गरेकाे हाे ।
चुनौतीपूर्ण आर्थिक अवस्था र निर्माण क्षेत्रमा आएको सुस्तताका कारण आम्दानी र बिक्री दर दुवैमा आएको कम्पनीले जनाएकाे छ। यस अघि सन् २०२३ मा कम्पनीले ६ अर्ब ३० करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।
व्यापारिक परिमाण घटे पनि कम्पनीको खुद नाफामा भने उल्लेख्य सुधार देखिएको छ । सन् २०२४ मा मात्र ४० लाख रुपैयाँ रहेको खुद नाफा सन् २०२५ मा बढेर ४ करोड रुपैयाँ पुगेको छ । यद्यपि, कच्चा पदार्थको मूल्य र उत्पादित वस्तुको बिक्री दरमा आएको गिरावटका कारण सञ्चालन नाफा मार्जिन भने ९.६० प्रतिशतबाट घटेर ७.७६ प्रतिशतमा खुम्चिएको छ ।
कम्पनीको वित्तीय संरचना र ऋणको भार भने अझै उच्च देखिन्छ। लगातारको ठूलो पूँजीगत खर्चका कारण कम्पनीको ‘गियरिङ रेसियो’ ३.०५ गुणा रहेको छ, यद्यपि यो अघिल्लो वर्षको ३.९८ गुणाको तुलनामा केही सुधारिएको हो । सन् २०२५ मा ५३ करोड रुपैयाँ बराबरको नयाँ इक्विटी थपिएका कारण वित्तीय संरचनामा केही सन्तुलन आएको देखिन्छ ।
ऋण तिर्ने क्षमताका आधारमा कम्पनीको ब्याज कभरेज अनुपात १.३५ गुणा रहेको छ, जुन सन् २०२४ मा १.१२ गुणा थियो । तर, कम्पनीको कार्यगत पूँजी चक्र भने निकै खर्चिलो बनेको छ । बजारबाट पैसा उठ्न लाग्ने समय र मौज्दात सामानको व्यवस्थापनका कारण यो चक्र २६७ दिनबाट बढेर ३०६ दिन पुगेको छ, जसले गर्दा बैंक ऋणमा कम्पनीको निर्भरता बढेको छ ।
कम्पनीले हाल कुल ७ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक कर्जा सुविधाका लागि रेटिङ गराएको छ । ‘केयर रेटिङ्स नेपाल’ले कम्पनीको दीर्घकालीन कर्जाका लागि ‘केयर-एनपी डबल बी माइनस’ र अल्पकालीन कर्जाका लागि ‘केयर-एनपी ए फोर’ रेटिङलाई पुन: पुष्टि गरेको छ । यो रेटिङले कम्पनीमा मध्यम खालको डिफल्ट जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीका लागि कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव र ७५ प्रतिशत आयातमा आधारित हुनुपर्ने भएकाले वैदेशिक मुद्रा विनिमय दरको जोखिम मुख्य चुनौती हुन् । साथै, स्टिल उद्योगमा रहेको उच्च प्रतिस्पर्धा र ब्याजदरमा हुने परिवर्तनले पनि मुनाफामा असर पार्न सक्ने देखिन्छ ।
सन् १९५० देखि व्यवसायमा संलग्न मुन्ना प्रसाद सेनुरिया बनियाको नेतृत्वमा रहेको यस कम्पनीको कारखाना रौतहटको चन्द्रनिगाहापुरमा रहेको छ । यसले ‘गोदावरी स्टिल’ ब्रान्ड नाममा टीएमटी छड, प्लेन स्टिल बार र बिलेट्स उत्पादन गर्दै आएको छ । हाल वार्षिक १ लाख ४४ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यस उद्योगले आफ्नो क्षमता बढाएर २ लाख १६ हजार मेट्रिक टन पुर्याउने लक्ष्य राखेको छ ।













