उर्जा संकटबाट बच्न बिजुली भान्सा-सडक तर्फ नेपाली, ८ महिनामा साढे १ अर्बको भान्साजन्य विद्युतीय सामान आयात - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उर्जा संकटबाट बच्न बिजुली भान्सा-सडक तर्फ नेपाली, ८ महिनामा साढे १ अर्बको भान्साजन्य विद्युतीय सामान आयात



काठमाडौं । विश्व राजनीतिमा देखा परेको इरान–इजरायल तनाव र संयुक्त राज्य अमेरिकाको संलग्नताले विश्व बजारमा उर्जा संकटको नयाँ कालो बादल मडारिएको छ ।

विशेषगरी रणनीतिक रूपमा महत्वपूर्ण ’हर्मोज जलडमरु’मा भएको अवरोध र नाकाबन्दीका कारण विश्वभर पेट्रोलियम आपूर्ति शृङ्खला खलबलिएको छ । यसको प्रत्यक्ष प्रभाव नेपाल जस्तो आयातमा निर्भर मुलुकको भान्सा र दैनिक जनजीवनमा गहिरो गरी पर्न थालेको छ ।

मध्यपूर्वमा बढ्दो सैन्य द्वन्द्वले कच्चा तेलको मूल्यलाई अन्तर्राष्ट्रिय बजारमा अस्थिर बनाएको छ । इरान र इजरायलबीचको प्रत्यक्ष टकरावले उर्जा सुरक्षामा ठूलो चुनौती थपेको छ ।

हर्मोज क्षेत्रमा हुने कुनै पनि अवरोधले विश्वको झन्डै २० प्रतिशत तेल आपूर्ति ठप्प पार्ने जोखिम रहन्छ । जसको मार अहिले नेपाल आयल निगमको मूल्य सूचीमा देखिएको छ ।

नेपाल आयल निगमले पछिल्लो समय लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले चैत २० गते मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा एकैपटक प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको छ ।

यससँगै काठमाडौँ, पोखरा र दिपायल जस्ता सहरमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १८२ रुपैयाँ कायम भएको छ । तराईका क्षेत्रमा समेत पेट्रोल करिब २०० रुपैयाँको हाराहारीमा पुगेको छ ।

यो मूल्यवृद्धिले आम नेपालीको भान्सा र दैनिक यातायातलाई कष्टकर बनाएको छ । ढुवानी खर्च बढ्दा खाद्यान्न र अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ । खाना पकाउने ग्यासको अनिश्चितता र मट्टितेलको महँगीले गर्दा न्यून आय भएका सर्वसाधारणलाई बिहान–बेलुका हातमुख जोर्नै धौ–धौ परिरहेको छ ।

जीवाष्म इन्धनमा रहेको परनिर्भरताले हाम्रो अर्थतन्त्रलाई कसरी बाह्य धक्काले छियाछिया पार्न सक्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।

विद्युतीय सामानको आयातमा उछाल
इन्धनको मूल्यले जनता त्रसित भइरहँदा अर्कोतर्फ सुखद संकेत पनि देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनाको तथ्यांक हेर्दा नेपालमा विद्युतीय सवारी साधन र भान्साका विद्युतीय उपकरणको आयातमा उत्साहजनक वृद्धि भएको छ । यसले नेपाली उपभोक्ताहरू बिस्तारै महँगो तेल र ग्यासको विकल्प खोज्दै विद्युतीय ऊर्जातर्फ आकर्षित भइरहेको देखाउँछ ।

भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा विद्युतीय सवारी र भान्साका उपकरण गरी कुल १८ अर्ब ७० करोड ३५ लाख ५५ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । यसबाट राज्यले १० अर्ब २९ करोड १६ लाख ९० हजार रुपैयाँ राजस्व समेत संकलन गरेको छ ।

विद्युतीय सवारी साधनको क्षेत्रमा ८ महिनामा १६ अर्ब ३३ करोड ७४ लाख ३६ हजार रुपैयाँ बराबरको आयात भएको छ । जसमध्ये ५० किलोवाटसम्मका २ हजार १९८ वटा गाडी ३ अर्ब ८५ करोड ८२ लाख ८२ हजार रुपैयाँमा आयात भएका छन् ।

५१ देखि १०० किलोवाटका ३ हजार ६७२ वटा गाडी ९ अर्ब ४५ करोड २३ लाख १० हजार रुपैयाँ बराबरको भित्रिएका छन् । १०१ देखि २०० किलोवाटका ५१९ वटा गाडी १ अर्ब ६० करोड १ लाख ४५ हजार रुपैयाँमा आयात भएका छन् ।

६ हजार १६ वटा टेम्पो वा रिक्सा ६५ करोड ५९ लाख ७५ हजार रुपैयाँमा र ७ हजार ६३ वटा तीन पाङ्ग्रे पार्टपुर्जा ७२ करोड १३ लाख ३४ हजार रुपैयाँमा आयात भएको देखिन्छ ।

विद्युतीय मोटरसाइकल, स्कुटर र अन्य दुई पाङ्ग्रे सवारीको आयात पनि बढ्दो छ । यो समूहमा मात्र १ अर्ब ३० करोड ८० लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । जसमा १३ हजार ७४६ वटा अन्य दुई पाङ्ग्रे सवारी १ अर्ब २८ करोड ६१ लाख ९९ हजार रुपैयाँमा भित्रिएका छन् ।

ग्यासको विकल्पका रूपमा भान्सामा प्रयोग हुने विद्युतीय सामानको आयात पनि उल्लेख्य छ । आठ महिनामा १ अर्ब ५ करोड ८१ लाख १७ हजार रुपैयाँका भान्साजन्य विद्युतीय सामान आयात भएका छन् । जसमा २ लाख १२ हजार ६५५ वटा राइस कुकर २८ करोड ९३ लाख ८८ हजार रुपैयाँमा आयात भएको छ ।

१ लाख ४ हजार ७१७ वटा इन्डक्सन चुल्हो २२ करोड २७ लाख ४ हजार रुपैयाँमा भित्रिएको छ । ११ लाख ४७ हजार ६६० वटा इलेक्ट्रिक केतली र जग ३२ करोड ७३ लाख २३ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

आयातको ट्रेन्डमा देखिएको आत्मनिर्भरताको बाटो
अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्य बढ्नु र नेपालमा विद्युतीय सामानको आयात बढ्नुले एउटा स्पष्ट मार्गचित्र कोरेको छ । यो तथ्यांकले के पुष्टि गर्छ भने नेपाली समाज अब ग्यास र पेट्रोलको महँगीबाट आजित भएर स्वदेशी विद्युत खपततर्फ मोडिएको छ ।

१० लाखभन्दा बढी कितली र २ लाखभन्दा बढी राइस कुकरको आयातले नेपाली भान्सामा एलपी ग्यासको खपत घटाउन ठूलो भूमिका खेलेको छ । यसले प्रतिमहिना विदेशिने करोडौँ रुपैयाँ रोक्न मद्दत गर्छ ।

५० देखि १०० किलोवाटका सवारीमा देखिएको आकर्षणले मध्यम वर्गीय परिवारले पनि डिजेल–पेट्रोलको विकल्प रोज्न थालेको बुझिन्छ । यसले सहरी क्षेत्रको वायु प्रदूषण घटाउनुका साथै सञ्चालन खर्चमा ८० प्रतिशतसम्म बचत गराउँछ ।

विद्युतीय सामानको आयातबाट उठेको १० अर्बभन्दा बढी राजस्वले राज्यको ढुकुटी बलियो बनाएको छ । अर्कोतर्फ, स्वदेशमा उत्पादित बिजुली खपत हुँदा व्यापार घाटा न्यूनीकरणमा प्रत्यक्ष योगदान पुग्छ ।

इरान–इजरायल द्वन्द्वले निम्त्याएको उर्जा संकट हाम्रा लागि एउटा अवसर पनि हो । तेलको मूल्य २०० रुपैयाँ नाघ्दै गर्दा विद्युतीय गाडी र चुल्होको बढ्दो प्रयोगले नेपाललाई ’उर्जा आत्मनिर्भरता’ तर्फ लैजाने निश्चित छ ।

यदि सरकारले चार्जिङ स्टेशन र भरपर्दो विद्युत आपूर्तिको सुनिश्चितता गर्ने हो भने, यो आयातको ट्रेन्डले भविष्यमा विदेशी इन्धनको परनिर्भरतालाई पूर्णत: विस्थापित गर्न सक्ने देखिन्छ । हाम्रो आफ्नै खोलाबाट उत्पादित विद्युतको प्रयोग नै अन्तर्राष्ट्रिय उर्जा संकटको स्थायी समाधान हो ।


प्रतिक्रिया दिनुहोस्