शुक्रबार पनि शेयर बजार खुल्ने, यस्तो छ नयाँ तालिका ! - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

शुक्रबार पनि शेयर बजार खुल्ने, यस्तो छ नयाँ तालिका !



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्रको दोस्रो बजार अब शुक्रबार पनि खुल्ने आधिकारिक निर्णय गरेको छ ।

सरकारले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती, विशेष गरी इन्धन खपत कम गर्ने र वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले यो नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

नेप्से सञ्चालक समितिको पछिल्लो बैठकले लगानीकर्ताहरूलाई साताको ५ दिन नै कारोबार गर्ने अवसर प्रदान गर्न शुक्रबार बजार सञ्चालन गर्ने निर्णय लिएको हो ।

यसअघि शेयर बजार आइतबारदेखि बिहीबारसम्म नियमित खुल्ने र शुक्रबार थोरै कित्ता (अड लट) को मात्र कारोबार हुने व्यवस्था थियो । अबको नयाँ व्यवस्था अनुसार भने आइतबार बजार बन्द रहनेछ र शुक्रबार पनि अन्य कार्यदिनहरू जस्तै पूर्ण समय नियमित कारोबार सञ्चालन हुनेछ ।

शुक्रबार कार्यालय समय साँझ ५ बजेसम्म कायम रहने र सोही अवधिमा शेयर किनबेचका सबै प्रक्रियाहरू सम्पन्न हुने व्यवस्था मिलाइएको छ । यसका लागि सबै सम्बन्धित निकाय र प्राविधिक विभागहरूलाई आफ्नो प्रणाली तुरुन्त अद्यावधिक गर्न निर्देशन दिइसकेको नेप्सेले जनाएको छ ।

नेप्सेले यसअघि २०७९ सालमा पनि सरकारको दुई दिने बिदाको निर्णयको पालना गर्दै शुक्रबार कारोबार सञ्चालन गरेको थियो । विगतको अनुभवका आधारमा यस पटक पनि प्राविधिक र व्यवस्थापकीय रूपमा कुनै ठुलो समस्या नआउने विश्वास नेप्सेले व्यक्त गरेको छ ।

यसै क्रममा नेप्सेले स्टक डिलरहरूको कार्यविधिमा पनि केही महत्वपूर्ण संशोधन गरी बजारमा संस्थागत लगानीकर्ताको सहभागितालाई थप सहज र प्रभावकारी बनाउने प्रयास गरेको छ ।

यो नयाँ निर्णयले शेयर बजारका लगानीकर्ताहरूलाई साताको पाँच दिन नै कारोबारको अवसर प्रदान गर्नेछ । जसले बजारलाई थप चलायमान बनाउन र लगानीको वातावरणलाई थप गतिशील बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्