भारततर्फको निर्यातले बढायो पाल्पा सिमेन्टको चमक, ६ महिनामै पौने २ अर्बको व्यापार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भारततर्फको निर्यातले बढायो पाल्पा सिमेन्टको चमक, ६ महिनामै पौने २ अर्बको व्यापार



काठमाडौँ । समग्र सिमेन्ट उद्योगमा देखिएको मन्दीका बीच पनि पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो व्यापारिक लयलाई विस्तार गर्दै उत्साहजनक फड्को मारेको छ।

उद्योगले चालू आर्थिक वर्ष २०२५/२६ को पहिलो ६ महिनामा १ अर्ब ८९ करोड रुपैयाँको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४६ प्रतिशतको उच्च वृद्धि हो।

सन् २०२५ मा ४ अर्ब ११ करोड २० लाख रुपैयाँको व्यापार गरेको यस उद्योगले सन् २०२४ मा ४ अर्ब २२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो।

सन् २०२४ को तुलनामा २०२५ मा व्यापारमा करिब २.७ प्रतिशतको सामान्य गिरावट देखिए तापनि अघिल्ल्ला वर्षहरू २०२२ र २०२३ मा क्रमशः ३ अर्ब ८१ करोड ८० लाख र ४ अर्ब १२ करोड ९० लाख रुपैयाँको कारोबार गर्दै उद्योगले आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको देखिन्छ। यस व्यापारिक वृद्धिमा भारततर्फको निर्यातले ठूलो सहयोग पुर्‍याएको छ।

पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार उद्योगको कुल व्यापारमा निर्यातको हिस्सा औसतमा २३ प्रतिशत रहेको छ। विशेषगरी आर्थिक वर्ष २०२३/२४ मा २५ प्रतिशत र २०२४/२५ मा १९ प्रतिशत रहेको निर्यातको हिस्सा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा पुनः बढेर २४ प्रतिशत पुगेको छ।

अन्य सूचकहरूमा भने केही मिश्रित अवस्था देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०२४/२५ मा २४ प्रतिशत रहेको सञ्चालन नाफा र बिक्रीको अनुपात चालू आर्थिक वर्षको पहिलो ६ महिनामा घटेर २२ प्रतिशतमा खुम्चिएको छ । यद्यपि, कम्पनीको ऋण व्यवस्थापनमा भने केही सुधारका संकेतहरू छन्। कुल ऋण र खुद मूर्त पूँजीको अनुपात अघिल्लो वर्षको १.८ गुणाबाट घटेर १.७ गुणामा झरेको छ भने कुल बाह्य दायित्व र खुद मूर्त पूँजीको अनुपात पनि २.० गुणाबाट १.९ गुणामा ओर्लिएको छ ।

कम्पनीको ऋण भुक्तानी गर्ने क्षमतामा सुधार देखिनु सकारात्मक पक्ष हो। ऋण सेवा रक्षा अनुपात अघिल्लो वर्षको १.२ गुणाबाट बढेर १.४ गुणा पुगेको छ, जसले कम्पनीले आफ्नो ऋणको किस्ता र ब्याज तिर्न सक्ने क्षमता बढाएको देखाउँछ । तर, सञ्चालन नाफाको तुलनामा कुल ऋणको भार ६.४ गुणाबाट बढेर ७.७ गुणा पुग्नुले कम्पनीको ऋणको बोझ अझै उच्च रहेको तर्फ संकेत गर्दछ । ब्याज तिर्न सक्ने क्षमता भने १.८ गुणामा स्थिर छ ।

कार्यशील पूँजी व्यवस्थापनमा भने केही चुनौती थपिएको देखिन्छ। खुद कार्यशील पूँजी र सञ्चालन आयको अनुपात अघिल्लो वर्षको ५६ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको छ, जसले व्यापार सञ्चालनका लागि बढी पैसा होल्ड भएको देखाउँछ ।

यद्यपि, कम्पनीको चालू अनुपात २.३ गुणामा स्थिर रहनुले अल्पकालीन दायित्व पुरा गर्न कम्पनीसँग पर्याप्त चल सम्पति रहेको पुष्टि गर्दछ ।

इक्रा नेपालले कम्पनीको कुल ७ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको ऋण सुविधाहरूको रेटिङ गरेको छ । जसमध्ये ५ अर्ब ८३ करोड ८३ लाख रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘एल डबल बी’ रेटिङलाई यथावत राखिएको छ । त्यस्तै, १ अर्ब ६८ करोड ६० लाख रुपैयाँ बराबरको अल्पकालीन ऋणका लागि भने ‘ए फोर प्लस’ रेटिङ प्रदान गर्दै स्तरवृद्धि गरिएको छ, जुन यसअघि ‘ए फोर’ रहेको थियो ।

सिमेन्ट र क्लिङ्कर भारततर्फ निर्यात हुनु कम्पनीका लागि सबल पक्ष रहे तापनि सरकारले दिँदै आएको निर्यात सहुलियत हटाउनु र भारतीय बजारमा नेपाली उत्पादनको मूल्य अन्तर घट्नु कम्पनीका लागि मुख्य चुनौती हुन् । साथै, कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव र आन्तरिक बजारमा देखिएको तीव्र प्रतिस्पर्धाले कम्पनीको नाफामा आगामी दिनमा दबाब सिर्जना गर्न सक्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्