डिजिटल भुक्तानीमा फोनपेको बलियाे पकडः ९७ प्रतिशत क्युआर बजार ओगट्दै एक वर्षमा ९७ करोड माथिकाे आम्दानी
काठमाडाैं । नेपालको डिजिटल भुक्तानी प्रणालीमा नेतृत्वदायी भूमिका खेल्दै आएको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो आम्दानीमा उल्लेख्य सुधार गरेको छ।
सन् २०२५ मा कम्पनीले कुल ९७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गर्न सफल भएको छ। अघिल्लो वर्ष सन् २०२४ मा ७२ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले एक वर्षको अवधिमा करिब ३४ प्रतिशतको वृद्धि हासिल गरेको देखिन्छ।
सन् २०२३ मा ४४ करोड ६० लाख र सन् २०२२ मा २० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीको पछिल्लो चार वर्षको औसत वार्षिक वृद्धिदर करिब ६१ प्रतिशत रहेको छ। सन् २०२६ को पहिलो ६ महिनामा मात्रै कम्पनीले ६१ करोड १० लाख रुपैयाँ आम्दानी गरिसकेको छ, जसले २६ प्रतिशतको वार्षिक वृद्धिलाई कायम राख्ने संकेत गर्दछ।
कम्पनीको व्यापार विस्तारमा डिजिटल भुक्तानीको बढ्दो प्रयोग र १७ लाखभन्दा बढी व्यावसायिक ग्राहकहरूको (मर्चेन्ट) आबद्धताले मुख्य भूमिका खेलेको छ।
सन् २०२५ सम्मको चार वर्षे तथ्याङ्क हेर्दा फोनपेमार्फत हुने अन्तर-बैंक रकम स्थानान्तरणमा वार्षिक औसत १०२ प्रतिशतको लोभलाग्दो वृद्धि भएको छ।
त्यसैगरी, क्युआर कारोबारमा वार्षिक औसत १४८ प्रतिशत र अनलाइन भुक्तानीमा २१ प्रतिशतको वृद्धि देखिएको छ। सञ्चालन खर्च स्थिर रहँदा र व्यवसायको दायरा बढ्दा कम्पनीको मुनाफा सूचकहरू निकै बलियो देखिएका छन्। पछिल्लो दुई वर्षमा कम्पनीको औसत पुँजीमा प्रतिफल ५७ प्रतिशत रहेको छ भने सन् २०२६ को पहिलो ६ महिनामा यो ५६ प्रतिशत कायम छ।
कम्पनीको आम्दानीसँगै अन्य वित्तीय सूचकहरू पनि बलियो देखिएका छन्। सञ्चालन मुनाफाको मार्जिनमा निरन्तर सुधार हुँदै सन् २०२६ को पहिलो ६ महिनामा ५१.६ प्रतिशत पुगेको छ, जुन सन् २०२३ मा ८.४ प्रतिशत मात्र थियो। कम्पनी पूर्ण रूपमा ऋणमुक्त अवस्थामा रहनु र आफ्नै पुँजी तथा सञ्चित नाफाबाट व्यवसाय विस्तार गर्नु यसको सबल पक्ष मानिएको छ।
सन् २०२६ को सुरुवाती ६ महिनाको अवधिमा कम्पनीसँग ६४ करोड ७० लाख रुपैयाँ नगद मौज्दात रहेको छ। यसैबीच, कम्पनीले बुक-बिल्डिङ विधिमार्फत सेयर निष्कासन गर्ने योजनासमेत अघि बढाएको छ। हाल यस कम्पनीसँग ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू जोडिएका छन्।
कम्पनीको कार्यशील पुँजी व्यवस्थापन र अल्पकालीन वित्तीय अवस्थालाई हेर्दा, सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात सन् २०२२ मा ऋण ९ प्रतिशत, सन् २०२३ मा ऋण १२ प्रतिशत, सन् २०२४ मा ऋण १५ प्रतिशत र सन् २०२५ मा पनि ऋण १५ प्रतिशत रहेको थियो। सन् २०२६ को पहिलो ६ महिनामा यो अनुपात ऋण २० प्रतिशत कायम भएको छ।
त्यसैगरी, कम्पनीको चालु अनुपात सन् २०२२ मा ४.३, सन् २०२३ मा ३.४ र सन् २०२४ मा ३.० रहेकोमा सन् २०२५ मा १.६ कायम भएको थियो। सन् २०२६ को पहिलो ६ महिनामा यो अनुपातमा केही सुधार भई २.२ पुगेको छ।
इक्रा नेपालले यस कम्पनीलाई ‘इक्रा एनपी इस्युअर रेटिङ ए माइनस’ प्रदान गरेको छ। एफवान सफ्ट ग्रुपसँगको आबद्धता र अनुभवी व्यवस्थापन टोलीका कारण कम्पनीले यो रेटिङ प्राप्त गरेको हो।
नेपालको क्युआर बजारमा ९७ प्रतिशत र अन्तर-बैंक रकम स्थानान्तरणमा ८६ प्रतिशत बजार हिस्सा ओगट्नु कम्पनीको मुख्य शक्ति हो। यद्यपि, ९० प्रतिशत आम्दानी एउटै विधा (अन्तर-बैंक स्थानान्तरण शुल्क) मा निर्भर हुनु र नियामक निकायले सेवा शुल्क घटाउन सक्ने सम्भावना कम्पनीका लागि मुख्य चुनौती हुन्।
यी जोखिम न्यूनीकरणका लागि कम्पनीले क्रस बोर्डर भुक्तानी र भर्चुअल क्रेडिट कार्डजस्ता नयाँ सेवाहरू विस्तार गरिरहेको छ।













