ट्रेड टावरको वित्तीय फड्को: सञ्चालन आम्दानी १९ करोड ५० लाख नाघ्यो
काठमाडौँ । आर्थिक वर्ष सन् २०२६ को पहिलो ६ महिनामा ट्रेड टावर लिमिटेडले ९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । इक्रा नेपालको प्रतिवेदनले पछिल्ला वर्षहरूमा कम्पनीको वित्तीय प्रदर्शन पनि सुधार हुँदै गइरहेको देखाएको छ।
आर्थिक वर्ष २०२५ मा कम्पनीले १९ करोड ५० लाख रूपैयाँ बराबरको आम्दानी गरेको छ । जुन २०२४ को तुलनामा करिब ७५.६७ प्रतिशत बढी हो । २०२४ मा कम्पनीले ११ करोड १० लाख रूपैयाँ आम्दानी गरेको थियो । कम्पनीले अघिल्ला वर्षहरू २०२१ मा ६ करोड ८० लाख रूपैयाँ, २०२२ मा ८ करोड १० लाख रूपैयाँ र २०२३ मा ९ करोड रूपैयाँ कमाएको थियो ।
कम्पनीका अन्य सूचकहरू हेर्दा साधारण शेयर (आईपीओ) निष्कासनपछि संकलित रकमबाट करिब ६८ प्रतिशत दीर्घकालीन ऋण भुक्तानी गरेपछि यसको पूँजीगत संरचना थप मजबुत बनेको छ । सन् २०२४ मा कुल ऋण र नेटवर्थको अनुपात ०.८ गुणा रहेकोमा सन् २०२५ मा यो उल्लेखनीय रूपमा घटेर ०.१२ गुणा कायम भएको छ । यस्तै, कुल ऋण र सञ्चालन मुनाफाको अनुपात पनि सन् २०२४ को ६.४ गुणाबाट घटेर २०२५ मा १.० गुणा कायम भएको छ ।
यता कम्पनीको ऋण तिर्न सक्ने क्षमतामा भने अघिल्ला वर्षहरूको तुलनामा केही संकुचन आएको देखिन्छ । सन् २०२१ मा १४.३ गुणा, २०२२ मा १०.८ गुणा र २०२३ मा २५.६ गुणा रहेको यस्तो क्षमता सन् २०२४ मा ७.२ गुणामा झरेको थियो । सन् २०२५ सम्म आइपुग्दा ऋणको सावाँ भुक्तानीको चाप सुरु भएकाले यो सूचक घटेर २.२ गुणा कायम भएको छ ।
यद्यपि, सन् २०२६ को पहिलो ६ महिनामा यसमा केही सुधार भई २.९ गुणा पुगेको प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, कम्पनीको ब्याज कभरेज अनुपात सन् २०२४ को ७.२ गुणाबाट घटेर २०२५ मा २.४ गुणा रहे पनि सन् २०२६ को पहिलो ६ महिनामा सुधार भएर ४.५ गुणा पुगेको छ ।
कम्पनीका लागि भाडा आम्दानी र होटल व्यवसायको स्थिरता मुख्य चुनौतीका रूपमा रहेका छन् । काठमाडौँ उपत्यकामा व्यावसायिक कम्प्लेक्स र मलहरूको संख्या निरन्तर थपिँदै जाँदा थापाथलीस्थित भवनको भाडा दर कायम राख्न र प्रतिस्पर्धामा उत्रिन चुनौतीपूर्ण देखिएको छ ।
यस्तै, भर्खरै सञ्चालनमा आएको गौशालास्थित होटल क्रिस्टल पशुपतिले पनि मध्यम स्तरको अकुपेन्सी मात्र प्राप्त गरिरहेको छ, जसको मुख्य कारण आन्तरिक राजनीतिक अस्थिरता र त्यसले पर्यटक आगमनमा पारेको प्रभावलाई मानिएको छ ।
यसका साथै बाह्य भू-राजनीतिक तनाव, विशेषगरी पर्सियन खाडी क्षेत्रमा बढ्दो द्वन्द्वले इन्धनको मूल्य वृद्धि र अन्तर्राष्ट्रिय यात्रामा कमी ल्याउन सक्ने जोखिमले पनि कम्पनीको होटल व्यवसायलाई असर गर्ने देखिन्छ । पूँजी वृद्धिअनुसार नाफामा सोही अनुपातमा बढोत्तरी हुन नसक्नु र उठ्न बाँकी रकम असुलीमा हुने ढिलाइले कम्पनीको नगद प्रवाह र तरलता व्यवस्थापनमा समेत चुनौती थपेको प्रतिवेदनले औँल्याएको छ ।













