८ महिनामै विदेश पढ्न जादा बाहिरियो ९७ अब, भित्रिने रकम भने न्यून
काठमाडौं । नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्यासँगै देशबाट बाहिरिने पूँजीको आकार पनि डरलाग्दो गरी बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनाको तथ्याङ्क हेर्दा शिक्षा क्षेत्रमा मुलुकको खर्च र आम्दानीबीचको खाडल निकै फराकिलो देखिएको छ ।
समीक्षा अवधिमा नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि मात्र कुल ९७ अर्ब १० लाख रुपैयाँ खर्च गरेका छन् । तुलनात्मक रूपमा नेपाल आउने विदेशीहरूबाट हुने आम्दानी भने निकै कम अर्थात् ४ अर्ब १० करोड १७ लाख रुपैयाँ मात्रै रहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कलाई सूक्ष्म ढङ्गले विश्लेषण गर्दा विगत तीन वर्षमा यो क्रम निरन्तर उकालो लागिरहेको देखिन्छ । चालू आर्थिक वर्षमा बाहिरिएको ९७ अर्ब १० लाख रुपैयाँ र भित्रिएको ४ अर्ब १० करोड १७ लाख रुपैयाँ बीचको अन्तरलाई हेर्दा नेपालले शिक्षा क्षेत्रमा मात्रै ९२ अर्ब ८९ करोड ९३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
यो तथ्याङ्कले मुलुकको वैदेशिक मुद्रा सञ्चितिमा ठूलो दबाब सिर्जना गरेको छ । जसले गर्दा पुँजी पलायनको दरलाई कम गर्नुपर्ने चुनौती थपिएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस वर्ष विदेशिने रकममा उल्लेख्य वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा विदेश अध्ययनका लागि ८८ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ बाहिरिएको थियो भने नेपालले मात्र ३ अर्ब ५ करोड ९८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको थियो ।
गत वर्षको ८५ अर्ब ८६ करोड ४५ लाख रुपैयाँ को व्यापार घाटाको तुलनामा यस वर्षको घाटा झन्डै ७ अर्बले बढी हो । जसले नेपाली मुद्रा बाहिरिने क्रम तीव्र बनेको पुष्टि गर्दछ ।
तथ्याङ्कको अर्को पाटो हेर्दा आर्थिक वर्ष २०८०/८१ मा पनि स्थिति उस्तै चिन्ताजनक थियो । त्यस वर्षको पहिलो ८ महिनामा नेपालबाट ८० अर्ब १४ करोड १५ लाख रुपैयाँ बाहिरिएको थियो भने विदेशीहरूबाट नेपालले ३ अर्ब ८४ करोड ५० लाख रुपैयाँ प्राप्त गरेको थियो ।
सो समयमा पनि शिक्षा सेवातर्फको खुद घाटा ७६ अर्ब २९ करोड ६५ लाख रुपैयाँ रहेको थियो । विगत तीन वर्षको ट्रेन्डलाई हेर्दा भित्रिने रकममा स्थिरता रहे पनि बाहिरिने रकम भने बर्सेनि अर्बौँका दरले थपिँदै गएको स्पष्ट हुन्छ ।
समग्रमा तीन वर्षको तथ्याङ्कले नेपालको उच्च शिक्षा नीति र स्वदेशमै गुणस्तरीय शिक्षाको उपलब्धतामा ठूलो प्रश्नचिह्न खडा गरेको छ । एकातिर चालू वर्षको घाटा ९२ अर्ब ८९ करोड ९३ लाख रुपैयाँ पुग्नु र अर्कोतिर विदेशी मुद्रा भित्रिने दर निकै सुस्त हुनुले अर्थतन्त्रमा ’ब्रेन ड्रेन’ सँगै ’वेल्थ ड्रेन’ (सम्पत्ति पलायन) को समस्या पनि गहिरिँदै गएको देखिन्छ ।
यदि आगामी दिनमा स्वदेशी विश्वविद्यालयहरूलाई विदेशी विद्यार्थी आकर्षण गर्ने केन्द्रका रूपमा विकास गर्न सकिएन भने यो आर्थिक भार अझै थपिने निश्चित छ ।













