आईपीओ ल्याउन लागेको श्री एयरलाइन्सको व्यवसायीक फड्कोः सवा ५ अर्ब वार्षिक आम्दानी, अन्य सूचक कस्ता ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आईपीओ ल्याउन लागेको श्री एयरलाइन्सको व्यवसायीक फड्कोः सवा ५ अर्ब वार्षिक आम्दानी, अन्य सूचक कस्ता ?



काठमाडौँ । नेपालको आन्तरिक उडान सेवामा अग्रणी श्री एयरलाइन्स लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो व्यवसाय र वित्तीय स्थितिमा उल्लेख्य सुधार गरेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, कम्पनीको सञ्चालन आम्दानी र नाफामा निकै सकारात्मक परिवर्तन देखिएको छ ।

कम्पनीको विगत पाँच वर्षको तथ्याङ्कलाई हेर्दा व्यवसाय निरन्तर विस्तार भइरहेको देखिन्छ । आर्थिक वर्ष २०२२ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२५ मा आइपुग्दा २५ प्रतिशतले बढेर ५ अर्ब १० करोड ९० लाख रुपैयाँ पुगेको छ ।

बीचका वर्षहरूमा पनि आम्दानीको ग्राफ उकालो लागेको देखिन्छ। आर्थिक वर्ष २०२३ मा ४ अर्ब २६ करोड ४० लाख र २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँ आम्दानी भएको थियो । यस्तै चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा मात्रै कम्पनीले २ अर्ब ५३ करोड ४० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।

आम्दानीसँगै कम्पनीको सञ्चालन मुनाफामा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०२२ मा ७४ करोड १० लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा आर्थिक वर्ष २०२५ मा आइपुग्दा १ अर्ब ५२ करोड ९० लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, शुद्ध नाफाको वृद्धिदर झनै लोभलाग्दो छ। आर्थिक वर्ष २०२३ मा १६ करोड १० लाख रुपैयाँ रहेको शुद्ध नाफा आर्थिक वर्ष २०२५ मा ८२ करोड ४० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १३० प्रतिशतको वृद्धि हो । चालु आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा मात्रै कम्पनीले २६ करोड ४० लाख रुपैयाँ शुद्ध नाफा कमाउन सफल भएको छ ।

आर्थिक वर्ष २०२३ सम्म २१.१५ प्रतिशतको हाराहारीमा रहेको कम्पनीको कार्यदक्षता मापन गर्ने महत्वपूर्ण सूचक सञ्चालन मुनाफा दर आर्थिक वर्ष २०२५ मा बढेर २९.९३ प्रतिशत पुगेको छ ।

नाफामा भएको वृद्धिसँगै ऋणको ब्याज तिर्न सक्ने क्षमता पनि सुदृढ भएको छ। आर्थिक वर्ष २०२४ मा २.५८ गुणा रहेको यो अनुपात आर्थिक वर्ष २०२५ मा ४.०९ गुणा र चालु आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा ४.२२ गुणा पुगेको छ ।

ऋणको भार र पूँजीको सन्तुलनमा कम्पनीले निकै राम्रो व्यवस्थापन गरेको देखिन्छ। आर्थिक वर्ष २०२२ मा ४.५५ गुणा रहेको गेयरिङ अनुपात आर्थिक वर्ष २०२५ मा घटेर २.२५ गुणामा झरेको छ । फाइनान्स लिजलाई समेत समावेश गर्दा यो अनुपात सोही अवधिमा ६.२४ गुणाबाट घटेर २.८३ गुणामा सीमित भएको छ । यसले कम्पनीको पूँजी संरचनामा ऋणको निर्भरता घट्दै गएको र आन्तरिक स्रोत बलियो हुँदै गएको सङ्केत गर्छ।

साथै, कुल दायित्व र नेटवर्थको अनुपात पनि आर्थिक वर्ष २०२२ को ८.४४ गुणाबाट घटेर आर्थिक वर्ष २०२५ मा ३.६८ गुणामा आइपुगेको छ ।

तरलताको क्षेत्रमा भने कम्पनीले केही उतारचढाव सामना गरिरहेको देखिन्छ। चालु अनुपात आर्थिक वर्ष २०२४ मा ०.९९ गुणा पुगे पनि आर्थिक वर्ष २०२५ मा घटेर ०.६० गुणामा झरेको छ । यसले कम्पनीको तत्कालीन दायित्व भुक्तानीका लागि चालु सम्पत्तिमा केही दबाब रहेको देखाउँछ।

यद्यपि, ऋण भुक्तानी सेवा कभरेज अनुपात भने आर्थिक वर्ष २०२३ को १.०९ गुणाबाट सुधार भई आर्थिक वर्ष २०२५ मा १.३२ गुणा पुगेको छ । यसले कम्पनीले आफ्नो सञ्चालनबाट प्राप्त नगद प्रवाह मार्फत साँवा र ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा सुधार ल्याएको देखिन्छ ।

यी वित्तिय सूचकहरू हेर्दा आईपीओ निष्कासनको तयारीमा रहेको यो कम्पनीले लगानीकर्ताहरूका लागि सकारात्मक सन्देश दिएको छ।

श्री एयरलाइन्सको यो सफलताका पछाडि जहाज संख्यामा गरिएको विस्तार र इन्धन दक्षता मुख्य कारण रहेका छन् । कम्पनीले हालै थप तीनवटा क्यू-४०० विमानहरू भित्र्याएपछि यसको उडान क्षमता र बजार हिस्सा बढेर १९ प्रतिशत पुगेको छ ।

इन्धन धेरै खपत गर्ने सिआरजे जहाजहरूको प्रयोग घटाएर कम इन्धन खाने क्यू-४०० जहाजहरूको प्रयोग बढाउनाले नाफामा सुधार आएको हो ।

साथै, हेलिकप्टर र फिक्स्ड विङ दुवै क्षेत्रमा सञ्चालन हुनु र अनुभवी व्यवस्थापन हुनुले पनि व्यवसायलाई विविधीकरण गरेको छ । तर, पछिल्लो समय मध्यपूर्वको तनावका कारण हवाइ इन्धनको मूल्यमा भएको वृद्धि र बढ्दो प्रतिस्पर्धा भने कम्पनीका लागि चुनौतीका रूपमा देखिएका छन् ।

कम्पनीको यही सुदृढ वित्तीय अवस्था र व्यवसायिक वृद्धिलाई मध्यनजर गर्दै इन्फोमेरिक्स नेपालले श्री एयरलाइन्सको रेटिङलाई यथावत राखेको छ । कम्पनीको ३ अर्ब २५ करोड ८६ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जा सुविधाका लागि ‘त्रीपल बी माइनस’ र १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘ए थ्री’ रेटिङ प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्