६ महिनामै श्रीकृष्ण ओयल रिफाइनरीकाे व्याापार साढे २ अर्ब, कुल आम्दानीको ८७ प्रतिशत हिस्सा निर्यातबाट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

६ महिनामै श्रीकृष्ण ओयल रिफाइनरीकाे व्याापार साढे २ अर्ब, कुल आम्दानीको ८७ प्रतिशत हिस्सा निर्यातबाट



काठमाडौँ । नेपालको खाद्य तेल उद्योगमा स्थापित श्रीकृष्ण ओयल रिफाइनरी एण्ड भेजिटेबल घी इन्डस्ट्रिज प्रालिले पछिल्लो समय आफ्नो व्यापारिक कारोबारमा उल्लेख्य सुधार ल्याएको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार विगतका वर्षहरूमा केही उतारचढाव भोगेको यस उद्योगले आर्थिक वर्ष २०२५ मा आफ्नो आम्दानीमा ठुलो फड्को मारेको छ ।

कम्पनीको व्यापारिक संरचनामा निर्यातले मेरुदण्डको काम गरेको देखिन्छ। आर्थिक वर्ष २०२५ मा कुल सञ्चालन आम्दानीको ८७ प्रतिशत हिस्सा निर्यातले ओगटेको थियो भने चालु आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा पनि निर्यातको योगदान ८१ प्रतिशत रहेको छ ।

भारततर्फको उच्च मागका कारण आर्थिक वर्ष २०२४ मा ७३ करोडमा खुम्चिएको उद्याेगकाे कुल आम्दानी २०२५ मा करिब ४६१ प्रतिशतले बढेर ४ अर्ब १० करोड ८० लाख रुपैयाँ पुगेको छ ।

श्रीकृष्ण ओयल रिफाइनरीले अघिल्ला आव सन् २०२२ मा ३ अर्ब ६७ करोड, आव २०२३ मा घटेर १ अर्ब ५० करोड र आव २०२४ मा थप खुम्चिएर ७ करोड ३० लाख रूपैयाँ बराबरकाे मात्र व्यापार गरेकाे थियाे ।

तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०२६ को पहिलो ६ महिना (सन् २०२५ को मध्य जुलाईदेखि २०२६ को मध्य जनवरीसम्म) मा कम्पनीले २ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ

उद्योगले कच्चा पदार्थका लागि भने सिंगापुर, स्विजरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना, इन्डोनेसिया, मलेसिया, युक्रेन र नेदरल्याण्ड जस्ता मुलुकहरूमा निर्भर रहनुपर्ने अवस्था छ ।

आम्दानीमा सुधार आए पनि कम्पनीको पूँजी संरचना भने निकै जोखिमपूर्ण र ऋणमा आधारित देखिएको छ। कार्यगत पूँजीका लागि उद्योगले अल्पकालीन ऋणमा अत्यधिक भर पर्नुपर्दा यसको ऋण र इक्विटीको अनुपात निकै उच्च छ । आर्थिक वर्ष २०२५ को अन्त्यमा ७.४२ गुणा रहेको गेयरिङ रसियाेे सन् २०२६ को मध्य जनवरीसम्म आइपुग्दा बढेर ८.८६ गुणा पुगेको छ । यसले कम्पनीको वित्तीय स्वास्थ्यमा ऋणको भार निकै बढी रहेको देखाए पनि आम्दानीमा भएको सुधारले ब्याज तिर्न सक्ने क्षमतामा भने केही राहत मिलेको छ ।

कम्पनीको कार्यगत पूँजी चक्रमा भने पछिल्लो समय केही सकारात्मक सुधार देखिएको छ। आर्थिक वर्ष २०२४ मा ५८० दिन जस्तो निकै लामो रहेको सञ्चालन चक्र २०२५ मा घटेर १७० दिनमा झरेको छ । मुख्य गरी भण्डारण अवधि ५१५ दिनबाट घटेर १४६ दिनमा झर्नु र बजारबाट पैसा उठ्ने समयमा सुधार हुनुले कम्पनीलाई राहत दिएको छ । यद्यपि, कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव र डलरको विनिमय दरको जोखिमले कम्पनीको लागत व्यवस्थापनमा अझै चुनौती थपिदिएको छ ।

बाराको सिमरामा कारखाना रहेको यो उद्योगको नेतृत्व तीन दशकभन्दा लामो अनुभव भएका मनोज कुमार अग्रवालले गरिरहेका छन् । यो कम्पनी नेपालको प्रतिष्ठित एचपी अग्रवाल ग्रुप अन्तर्गत सञ्चालित छ, जुन समूह उत्पादन, व्यापार, पोलिमर र चिनी उद्योग जस्ता विभिन्न क्षेत्रमा सक्रिय छ । समूहको यही साख र लामो अनुभवका कारण कम्पनीलाई बजारमा स्थापित हुन र वित्तीय लचकता प्राप्त गर्न सहज भएको छ ।

इन्फोमेरिक्स नेपालले कम्पनीको वित्तीय अवस्था र जोखिमको विश्लेषण गर्दै पहिलो पटक साख मूल्याङ्कन प्रदान गरेको छ । कम्पनीको १ अर्ब १५ करोड १८ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि ‘डबल बी माइनस’ र ३ अर्ब ६८ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘ए फाेर’ रेटिङ दिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्