मेची इन्डष्ट्रिजले १५ लाख कित्ता शेयर निश्काशनका लागी बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त
काठमाडौं । मेची इन्डष्ट्रिजले सर्वसाधारणको लागी १०० रुपैयाँ अंकित दरको पन्ध्र लाख कित्ता साधारण शेयर निश्काशन गर्ने भएको छ ।
सेयर निष्काशनको लागी बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।
आज एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी र मेची इन्डष्ट्रिजको तर्फबाट अध्यक्ष पवन घिमिरेले उक्त निष्काशित शेयरको लागि निष्काशन तथा बिक्री प्रबन्धक र संस्थागत परामर्श सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग कम्पनी नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
मेची इन्डष्ट्रिज ताराबारी दमक, झापामा महेन्द्र राजमार्गबाट २०० मिटर भित्र पर्ने आफ्नै स्वामित्वको जग्गामा प्रमुख स्वदेशी कच्चा पदार्थ बालुवा, सिमेन्ट, चुनमा आधारित अटोक्लेभ्ड एरेटेड कङ्क्रिट (एएसी) ब्लकहरु उत्पादन गर्ने एक उत्पादनमुलक उद्योग हो । यी ब्लकहरु हलुका र वातावरणमैत्री हुनुको साथै परम्परागत इँटाको विकल्पका रुपमा प्रयोग गरिन्छ ।
यस कम्पनीको हाल बार्षिक उत्पादन क्षमता २१ लाख साठी हजार थान/गोटा रहेको छ । यसले उच्च चापयुक्त बाफ प्रविधि प्रयोग गर्दछ, जसले ब्लकहरुलाई ताप प्रतिरोधी र अग्नि प्रतिरोधी बनाउँछ । यस कम्पनीले (एएसी) ब्लकका अतिरिक्त टाँस्ने एएसी ब्लक जडान गर्न प्रयोग हुने पदार्थ) रेडिमिक्स प्लाष्टर एएसी ब्लकमा बाहिरी/भित्री प्लाष्टर गर्ने पदार्थ) र वालपुट्टी (रङ्ग लगाउनु अघि भित्ता चिल्लो बनाउने मसिनो सेतो सिमेन्ट) को पनि उत्पादन गर्न आबश्यक प्लान्ट तथा मेसिनरीको जडानलाई तिव्रता दिइएको छ भने यी उत्पादनहरु केही समय भित्रै बजारमा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ ।













