नेप्सेमा अब २४सै घण्टा शेयर खरिद–बिक्री अर्डर, विश्वभरका नेपालीलाई जोड्ने प्रयास - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

नेप्सेमा अब २४सै घण्टा शेयर खरिद–बिक्री अर्डर, विश्वभरका नेपालीलाई जोड्ने प्रयास



काठमाडौं । नेपालको पूँजी बजारमा एक युगान्तकारी परिवर्तनको सुरुवात भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को ’धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा महत्वपूर्ण परिमार्जन गर्दै लगानीकर्तालाई चौबिसै घण्टा खरिद–बिक्री आदेश (अर्डर) दिन सक्ने व्यवस्था स्वीकृत गरेको छ । यसअघि लगानीकर्ताले निश्चित कारोबार समयमा मात्रै अर्डर प्रविष्ट गर्न पाउने बाध्यात्मक अवस्था थियो ।

नेप्सेले सुरुमा नियमित कारोबार समयबाहेक साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि मात्र यो सुविधा प्रस्ताव गरे पनि बोर्डले त्यसलाई परिमार्जन गरी पूर्ण २४ घण्टा नै अर्डर गर्न मिल्ने बनाएको हो । यो नयाँ व्यवस्थासँगै अब लगानीकर्ताले अर्डर हाल्नका लागि नियमित कारोबार समय (बिहान ११ देखि दिउँसो ३ बजे) को पर्खाइमा बसिरहनु पर्ने छैन ।

विशेष गरी विदेशमा रहेका नेपाली लगानीकर्ताहरूका लागि यो निर्णय कोसेढुङ्गा सावित हुने देखिएको छ । जसले समयको भिन्नताका कारण दोस्रो बजारमा सहभागी हुन नपाएको गुनासो गर्दै आएका थिए ।

यो ’अफ आवर’ अर्डर प्रणालीमा मूल्य निर्धारणका लागि निश्चित मापदण्ड तोकिएको छ । लगानीकर्ताले सोही दिनको अन्तिम कारोबार मूल्यमा अधिकतम २ प्रतिशत सम्म थपघट गरी आफ्नो अर्डर प्रविष्ट गर्न सक्नेछन् ।

नेप्सेले यसका लागि आफ्नो प्राविधिक प्रणाली समेत तयार पारिसकेको जानकारी दिएको छ । यस बाहेक विनियमावलीमा सर्किट ब्रेकको व्यवस्थामा पनि हेरफेर गरिएको छ । जहाँ नेप्सेले तीन वटा सर्किटको प्रस्ताव गरे पनि बोर्डले हाललाई दुई वटालाई मात्र स्वीकृत गरेको छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत गैरआवासीय नेपालीलाई पूँजी बजारमा सहज प्रवेश दिन र उनीहरूले लगानी गरेको रकमको निश्चित हिस्सा फिर्ता लैजान पाउने व्यवस्था गर्न सुझाव दिएको सन्दर्भमा यो निर्णय आएको हो ।

यो नयाँ विनियमावलीले प्राथमिक बजार (आइपीओ)मा मात्र सीमित रहेका साना लगानीकर्तालाई दोस्रो बजारमा आकर्षित गर्ने र समग्र बजारको आयतन बढाउने विश्वास गरिएको छ । अब नेपाली शेयर बजार समयको साँघुरो घेराभित्र मात्र सीमित नभई विश्वव्यापी बजारको लयसँग तालमेल मिलाउने दिशामा अघि बढेको छ ।


प्रतिक्रिया दिनुहोस्