सेयर बजारमा ’गेम चेन्जर’ नीति: एकैदिन १५ प्रतिशत नाफा–नोक्सानको अवसर, ५ नयाँ नियम - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

सेयर बजारमा ’गेम चेन्जर’ नीति: एकैदिन १५ प्रतिशत नाफा–नोक्सानको अवसर, ५ नयाँ नियम



काठमाडौं । नेपालको पुँजी बजारमा ऐतिहासिक फड्को मार्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार प्रणालीमा व्यापक नीतिगत सुधार कार्यान्वयनमा ल्याएको छ ।

धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०७८ औपचारिक रूपमा लागू भएसँगै लगानीकर्ताले अब आधुनिक र अन्तर्राष्ट्रिय स्तरका सुविधाहरू प्रयोग गर्न पाउने भएका हुन् ।

नेप्सेको सञ्चालक समितिले पारित गरेको यो संशोधित विनियमावली २०७८ माघ ७ गतेदेखि (सोमबार) नै कार्यान्वयनमा ल्याउने गरी सम्पूर्ण सरोकारवाला र कारोबार सदस्यहरूलाई निर्देशन दिइएको थियो ।

बजारको स्थायित्व, मूल्य निर्धारणमा पारदर्शिता र आम लगानीकर्ताको सक्रियता बढाउने लक्ष्यसहित यी पाँच वटा मुख्य व्यवस्थाहरूमा हेरफेर गरिएको हो । यसपटकको नीतिगत परिवर्तनमा सबैभन्दा चर्चाको विषय ’अफ्टर मार्केट अर्डर’ प्रणालीको सुरुवात बनेको छ ।

संशोधित विनियमावलीको विनियम ५ मा गरिएको नयाँ व्यवस्थाअनुसार अब लगानीकर्ताले नेप्सेले निर्धारण गरेको नियमित कारोबार समयभन्दा अगाडि वा पछाडि पनि आफ्ना सेयर किनबेचका आदेशहरू ब्रोकर प्रणालीमार्फत प्रविष्ट गर्न सक्नेछन् ।

यसरी प्राप्त भएका आदेशहरूलाई समयको प्राथमिकताका आधारमा प्रणालीमा राख्ने व्यवस्था मिलाइएको छ । यो व्यवस्थाले विशेषगरी दिउँसोको समयमा व्यस्त रहने लगानीकर्ताहरूलाई बजार बन्द भएपछि पनि ढुक्कसँग सूचनाको विश्लेषण गरी भोलिपल्टको लागि अर्डर राख्न मिल्ने लचकता प्रदान गरेको छ ।

कारोबारको सुरुवाती चरण अर्थात् ’प्रि–ओपन सेसन’ लाई अझ व्यवस्थित बनाउन मूल्य सीमामा परिवर्तन गरिएको छ । अब बिहान १०:३० देखि १०:४५ सम्म सञ्चालन हुने यस सत्रमा अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको अधिकतम ५ प्रतिशतसम्म मात्रै घटबढ हुने गरी मूल्य प्रविष्ट गर्न पाइनेछ ।

यसअघि यो सीमा निकै कम हुँदा बजार खुल्नेबित्तिकै मूल्यमा अस्वाभाविक उछाल वा गिरावट देखिने समस्या थियो । त्यस्तै, नियमित कारोबार समय भित्र अर्डर राख्दा हाल कायम रहेको मूल्यमा ३ प्रतिशतसम्म मात्रै घटबढ गर्न पाइने गरी विनियम १२ मा संशोधन गरिएको छ ।

यसअघि यस्तो सीमा २ प्रतिशत मात्र रहेकोमा अब यसलाई बढाएर बजारलाई अझ बढी प्रतिस्पर्धी र चलायमान बनाउन खोजिएको छ । बजारको सुरक्षा कवच मानिने ’सर्किट ब्रेकर’ प्रणालीमा पनि नेप्सेले साहसिक परिवर्तन गरेको छ ।

संशोधित व्यवस्थाअनुसार अब कारोबार सुरु भएको पहिलो २ घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार स्थगित गरिनेछ । यसअघि ४ प्रतिशतको उतारचढावमै २० मिनेटसम्म बजार रोकिने पुरानो प्रावधान थियो ।

सबैभन्दा ठूलो परिवर्तन त के छ भने यदि परिसूचक ८ प्रतिशतले घटे वा बढेमा सो दिनका लागि सम्पूर्ण कारोबार नै बन्द गरिनेछ । यसअघि ६ प्रतिशतमै बजार बन्द हुने गरेकोमा अब लगानीकर्ताले बजारमा आफ्नो रणनीति बनाउन थप खेल्ने ठाउँ पाएका छन् ।

नयाँ सूचीकृत कम्पनीहरूको हकमा पनि लगानीकर्ताले अब पहिलो दिनमै उत्साहजनक प्रतिफल पाउन सक्ने बाटो खुलेको छ । कुनै पनि संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्रको मूल्यमा सो दिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने गरी विनियम १७ मा नयाँ उपविनियम थपिएको छ ।

यसले नयाँ कम्पनीको सेयर मूल्य समायोजनलाई छिटो छरितो बनाउनुका साथै लगानीकर्तालाई उच्च उतारचढावको अवस्थामा पनि नाफा कमाउने वा जोखिम व्यवस्थापन गर्ने ठूलो अवसर प्रदान गर्नेछ । यी परिवर्तनहरूले नेपाली सेयर बजारलाई परिपक्व बनाउँदै सूचना र प्रविधिको अधिकतम प्रयोगमार्फत लगानीकर्ताको हित सुनिश्चित गर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्