आईपीओकाे तयारीमा रहेको प्रभु केबलकारको आम्दानी तीन गुणाले बढ्यो, एकै वर्षमा कमायो २० करोड ६० लाख
काठमाडौँ । आईपीओ निष्काशनको तयारीमा रहेको प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले पछिल्लो दुई आर्थिक वर्षमा आफ्नो आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ।
आर्थिक वर्ष २०२४ को तुलनामा आर्थिक वर्ष २०२५ मा कम्पनीको कुल सञ्चालन आम्दानी करिब तीन गुणाले बढेको देखिएको छ ।
आर्थिक वर्ष २०२४ मा ६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेकाे कम्पनीले २०२५ काे एक वर्षमा २० करोड ६० लाख रुपैयाँ आम्दानी गरेकाे छ ।
कम्पनीले ठूलो हिस्सा विभिन्न कम्पनीहरूको संस्थापक सेयरमा गरिएको लगानीबाट प्राप्त लाभांशको रहेको छ। कम्पनीले हाल पर्यटन र उर्जा क्षेत्रका विभिन्न परियोजनाहरूमा आफ्नो पुँजी लगानी गरिरहेको छ।
कम्पनीको सञ्चालन नाफाको दरमा भने केही गिरावट आएको छ। तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२४ मा ४५.९८ प्रतिशत रहेको यस्तो नाफाको दर आर्थिक वर्ष २०२५ मा घटेर ३२.०४ प्रतिशतमा सीमित भएको छ ।
यद्यपि, कम्पनीको ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा भने निकै सुधार आएको छ । अघिल्लो वर्ष १४.८० गुणा रहेको यो क्षमता पछिल्लो वर्ष बढेर ३२.७९ गुणा पुगेको छ, जसले कम्पनीको वित्तीय सबलतालाई दर्शाउँछ ।
ऋण र पुँजीको अनुपातलाई हेर्दा कम्पनी निकै बलियो स्थितिमा देखिएको छ। आर्थिक वर्ष २०२४ मा ०.०४ गुणा रहेको यो अनुपात २०२५ मा अझ घटेर ०.०२ गुणामा झरेको छ, जसको अर्थ कम्पनी लगभग ऋणमुक्त छ ।
त्यस्तै, कम्पनीको कुल ऋण र नगद प्रवाहको अनुपात पनि ०.८७ गुणाबाट घटेर ०.४२ गुणामा झरेको छ । यसले कम्पनीको आफ्नो ऋण तिर्न सक्ने क्षमतामा अघिल्लो वर्षको तुलनामा सुधार भएको पुष्टि गर्छ ।
कम्पनीले हाल ५३ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि कम्पनीले रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालबाट ‘केयर–एनपी डबल बी (इस्युअर)’ रेटिङ प्राप्त गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले आफ्नो लगानी विस्तार र आम्दानीका स्रोतहरू बढाउँदै लगेका कारण वित्तीय परिसूचकहरू सकारात्मक देखिएका छन् । विशेष गरी सिद्धार्थ केबलकार, सुर्यकुण्ड जलविद्युत् र त्रिवेणी केबलकार जस्ता आयोजनाहरूमा गरिएको लगानीले कम्पनीको भविष्यको आम्दानीलाई अझ सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।













