चुनढुङ्गा र खनिज उत्खननमा सक्रिय शक्ति मिनरल्सकाे व्यापारमा उछाल: एक वर्षमै आम्दानी ३० करोडबाट बढेर ७४ करोड माथि - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चुनढुङ्गा र खनिज उत्खननमा सक्रिय शक्ति मिनरल्सकाे व्यापारमा उछाल: एक वर्षमै आम्दानी ३० करोडबाट बढेर ७४ करोड माथि



काठमाडौँ । नेपालको खनिज अन्वेषण तथा चुनढुङ्गा प्रशोधन क्षेत्रमा सक्रिय शक्ति मिनरल्स प्रालिको व्यावसायिक प्रदर्शन पछिल्लो पाँच वर्षमा उत्साहजनक देखिएको छ ।

खनिज उत्खनन र विकास कार्यमा संलग्न यस कम्पनीको कुल सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भए पनि नाफाको दरमा भने केही दबाब देखिएको छ ।

सन् २०२१ मा ३० करोड २० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको कम्पनीको व्यापार सन् २०२४ मा सामान्य घटेर ३० करोड रुपैयाँमा सीमित भएको थियो । तर, सन् २०२५ मा भने कम्पनीको व्यापारमा निकै ठूलो उछाल आउँदै कुल सञ्चालन आम्दानी ७४ करोड २० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०२१ देखि २०२५ सम्मको अवधिमा कम्पनीले करिब २५ प्रतिशतको मिश्रित वार्षिक वृद्धि दर कायम गर्न सफल भएको छ ।

व्यापारको आकार बढे पनि कम्पनीको सञ्चालन नाफा दरमा भने गिरावट आएको छ । सन् २०२४ मा २३.६१ प्रतिशत रहेको नाफादर सन् २०२५ मा घटेर ११.९६ प्रतिशतमा खुम्चिएको छ ।

इन्धन र ढुवानी खर्चमा भएको उच्च वृद्धिका कारण नाफा दरमा संकुचन आएको हो, जसले कम्पनीको कुल लागतको करिब ५४ प्रतिशत हिस्सा ओगटेकाे । कम्पनीको ब्याज भुक्तानी गर्न सक्ने क्षमता सन् २०२४ मा २.२० गुणा रहेकोमा सन् २०२५ मा सुधार हुँदै ३.०७ गुणा पुगेको छ ।

कम्पनीको ऋण र पुँजीको अनुपातमा भने क्रमिक सुधार देखिएको छ । सन् २०२३ मा २.२५ गुणा रहेको यो अनुपात सन् २०२५ मा घटेर १.४६ गुणा कायम भएको छ । प्रवर्द्धकहरूबाट थप पुँजी लगानी र सुधारिएको नाफाका कारण पुँजी संरचनामा ऋणको हिस्सा कम हुँदै गएको हो ।

यस्तै, कम्पनीको कार्यशील पुँजीको चक्रमा पनि सुधार देखिएको छ । सन् २०२४ मा ३५४ दिन रहेको सञ्चालन चक्र सन् २०२५ मा घटेर १३५ दिनमा झरेको छ । यद्यपि, कम्पनीको व्यवसाय मुख्यतया सेवा प्रदायक प्रकृतिको र उधारोमा आधारित भएकाले समयमै रकम असुली गर्नु कम्पनीका लागि अझै पनि चुनौतीको विषय बनेको छ ।

यिनै वित्तीय सूचकहरूका बीच इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ४२ करोड २३ लाख ६० हजार रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि ‘डबल बी माइनस’ रेटिङ दिएको छ । त्यस्तै, ४४ करोड बराबरको अल्पकालीन ऋणका लागि भने यसले ‘ए फोर’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले तेस्रो पक्षका खानी सम्झौताहरूमा निर्भर रहनुपर्ने भएकाले आयोजनामा हुने ढिलाइ र उपकरणहरूको उपयोगमा आउन सक्ने कमी कम्पनीका लागि मुख्य जोखिम हुन् । हाल कम्पनीले भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा चुनढुङ्गा प्रशोधन इकाई सञ्चालन गर्नुका साथै विभिन्न खानीहरूमा उत्खनन, लोड गर्ने र ढुवानी गर्ने सेवाहरू प्रदान गर्दै आएको छ ।

विनोद कुमार श्रेष्ठ र दीपक कुमार झाको समान लगानी रहेको यस उद्योगले चुनढुङ्गामा आधारित औद्योगिक क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्