राष्ट्र बैंकका डेपुटी गभर्नर पण्डितको सम्पत्ति: काठमाडौँमा दुई घर, २० तोला सुन र सवा २ करोड बैंक मौज्दात - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राष्ट्र बैंकका डेपुटी गभर्नर पण्डितको सम्पत्ति: काठमाडौँमा दुई घर, २० तोला सुन र सवा २ करोड बैंक मौज्दात



काठमाडाैं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो र परिवारको स्वामित्वमा रहेको चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गरेका छन्।

सार्वजनिक पदमा आसिन व्यक्तिले अनिवार्य रूपमा सम्पत्ति विवरण खुलाउनुपर्ने नियम बमोजिम उनले काठमाडौंसहित विभिन्न जिल्लामा रहेका घरजग्गा, बैंक मौज्दात र सेयर लगानीबारे विस्तृत जानकारी गराएका हुन्।

विवरण अनुसार पण्डितको परिवारको नाममा काठमाडौंको टोखा नगरपालिका–३ मा २ करोड २० लाख रुपैयाँमा खरिद गरिएको घर छ भने सामाखुसीमा आमाको नाममा साढे दुई तलाको पैतृक घर रहेको छ।

जग्गाजमिनतर्फ डेपुटी गभर्नर पण्डितको आफ्नै नाममा कैलालीको धनगढीमा १० लाख रुपैयाँमा किनिएको जग्गा छ। यसका साथै श्रीमती कामना शर्मा पण्डितको नाममा काठमाडौंको तारकेश्वरमा ६९ लाख रुपैयाँ बराबरको जग्गा रहेको छ। उनको पुर्ख्यौली जिल्ला तनहुँको दमौलीमा ११ रोपनीभन्दा बढी पैतृक जमिन रहेको छ भने रुपन्देहीमा परिवारका अन्य सदस्यसँग संयुक्त रूपमा ४० लाख रुपैयाँमा खरिद गरिएको जग्गा रहेको विवरणमा उल्लेख छ।

बहुमूल्य धातु र नगद मौज्दाततर्फ पण्डित परिवारसँग २० तोला सुन, २५० तोला चाँदी र करिब दुई लाख रुपैयाँ मूल्यको हीरा रहेको छ। यी धातुहरू विवाह, पास्नी, व्रतबन्ध जस्ता पारम्परिक उत्सवमा उपहार स्वरूप र निजी कमाइबाट प्राप्त भएको उनले खुलाएका छन्।

नगदको हकमा पण्डितको विभिन्न बैंक खाताहरूमा २ करोड २० लाख ८४ हजार रुपैयाँ मौज्दात देखिएको छ। उनले करिब १ करोड ८ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको समेत जनाएका छन्।

पण्डितको राष्ट्र बैंकको अवकाश कोषबाहेक वाणिज्य बैंकहरूमा १ करोड ११ लाख रुपैयाँभन्दा बढी स्वदेशी मुद्रा र ७ हजार ८५६ अमेरिकी डलर बचत छ। यस्तै, उनकी श्रीमती कामनाको नाममा ५ लाख ७५ हजार रुपैयाँ र ३३ हजार ५७९ अमेरिकी डलर बैंक खातामा रहेको छ।

यसबाहेक डेपुटी गभर्नरको परिवारले विभिन्न बैंक, वित्तीय संस्था र बिमा कम्पनीहरूको हजारौँ कित्ता सेयरमा समेत ठूलो लगानी गरेको विवरणले देखाउँछ।


प्रतिक्रिया दिनुहोस्