एक वर्षमा ‘टोकला’ चियाको १ अर्ब ९ करोडको व्यापार, आईपीओको तयारी
काठमाडौँ । नेपाली चिया बजारमा ‘टोक्ला’ ब्राण्डमार्फत बलियो पहिचान बनाएको बनाएको टोकला चियाको व्यापार बढ्दो रहेको छ ।
पछिल्लो एक वर्षमा कम्पनीको व्यापार १२.४३ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीले १ अर्ब ९ करोड ४० लाख रुपैयाँ बराबरको चिया व्यापार गरेको छ भने आर्थिक वर्ष २०२४ मा ९७ करोड ३० लाख रुपैयाँको मात्रै कारोबार गरेको थियो।
यसअघिका वर्षहरूको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०२१ मा १ अर्ब ८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको व्यापार पछिल्ला दुई वर्षमा केही घटेको देखिन्छ। आर्थिक वर्ष २०२२ मा १ अर्ब १ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले आर्थिक वर्ष २०२३ मा १ अर्ब १ करोड १० लाख रुपैयाँको मात्र कारोबार गरेको थियो।
कम्पनीका अन्य वित्तीय सूचकहरूको कुरा गर्दा सञ्चालन नाफामा विगत पाँच वर्षमा संकुचन देखिएको छ। सन् २०२१ मा २४.२ प्रतिशत रहेको सञ्चालन नाफा सन् २०२३ मा ९ प्रतिशतको न्यून विन्दुमा झरेको थियो भने सन् २०२५ मा केही सुधार भई १०.४ प्रतिशत कायम भएको छ।
त्यस्तै, करपछिको खुद नाफा दर पनि सन् २०२१ को १९.४ प्रतिशतबाट घटेर सन् २०२५ मा ५.९ प्रतिशतमा खुम्चिएको छ। परिचालित पुँजीमा प्रतिफल (आरओसीई) मा पनि उल्लेख्य गिरावट आएको छ। सन् २०२१ मा ४८ प्रतिशत रहेको यो सूचक सन् २०२५ मा ११.७ प्रतिशतमा झरेको छ, जसले लगानी गरिएको पुँजीबाट आम्दानी गर्ने क्षमतामा दबाब परेको संकेत गर्छ।
नाफाको दरमा केही गिरावट आए तापनि कम्पनीको वित्तीय स्वास्थ्य भने निकै मजबुत देखिएको छ। कम्पनीको कुल ऋण र खुद सम्पत्तिको अनुपात सन् २०२१ को ०.५ बाट घटेर सन् २०२५ मा शून्यको अवस्थामा पुगेको छ, जसको अर्थ कम्पनी अहिले पूर्ण रूपमा ऋणमुक्त छ।
कुल बाह्य दायित्व र खुद सम्पत्तिको अनुपात पनि १.० बाट घटेर ०.३ मा झरेको छ। कम्पनीको तरलता र दायित्व भुक्तानी क्षमता निकै राम्रो छ। सन् २०२१ मा १.८ गुणा रहेको चालु अनुपात सन् २०२५ मा बढेर ४.३ गुणा पुगेको छ। ब्याज भुक्तानी क्षमता १३.४ गुणा रहनुले कम्पनी आफ्नो वित्तीय दायित्वहरू सजिलै पुरा गर्न सक्ने अवस्थामा रहेको पुष्टि गर्छ।
सन् १९७४ मा सरकारी संस्थानको रूपमा स्थापना भई सन् २००० देखि त्रिवेणी समूहको व्यवस्थापनमा रहेको यस निगममा हाल त्रिवेणी समूहको ६५ प्रतिशत र नेपाल सरकारका विभिन्न निकायको बाँकी शेयर स्वामित्व रहेको छ। कम्पनीले पूर्वी नेपालका सातवटा विशाल चिया बगानहरू मार्फत चिया खेती र प्रशोधन कार्य सञ्चालन गर्दै आएको छ। कुल १ हजार ६ सय १७ हेक्टर उपलब्ध क्षेत्रफलमध्ये करिब १ हजार ८७ हेक्टरमा चिया खेती फैलिएको छ।
आर्थिक वर्ष २०२५ मा कुल आम्दानीको करिब ८० प्रतिशत हिस्सा प्याकेज गरिएको चिया बिक्रीबाट प्राप्त भएको छ। कम्पनीले अब आफ्नो व्यवसाय विस्तार र नयाँ पुँजीगत खर्चका लागि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने योजना अघि सारेको छ। बजारमा रहेको प्रतिस्पर्धा र जलवायु परिवर्तनका जोखिमका बाबजुद सबल वित्तीय सूचकहरू र ऋणमुक्त अवस्थाले गर्दा कम्पनीको भविष्य सुरक्षित देखिएको इक्रा नेपालको रेटिङ प्रतिवेदनले उल्लेख गरेको छ।













