सानिमा क्यापिटलले बैशाख २४ देखि एक अर्बको ‘सानिमा इक्विटी फण्ड २’ निष्काशन गर्ने
काठमाडौँ । सानिमा क्यापिटलले आगामी वैशाख २४ गतेदेखि नयाँ म्युचुअल फण्ड योजना ‘सानिमा इक्विटी फण्ड २’ को सार्वजनिक निष्काशन सुरु गर्ने भएको छ।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउन लागेको यो स्किम १० वर्षे अवधिको बन्दमुखी योजना हो।
यस योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य कायम रहने गरी कुल १० करोड इकाई बिक्री गर्न लागेको हो। यसरी क्यापिटलले सामूहिक लगानी कोषमार्फत बजारबाट कुल १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
निष्काशन हुने कुल इकाईमध्ये १५ प्रतिशत इकाई कोष प्रवर्द्धक र योजना व्यवस्थापकका लागि आरक्षित गरिएको छ। जसअनुसार १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक सानिमा बैंकका लागि र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले छिटोमा वैशाख २९ गतेसम्म यस फण्डका लागि आवेदन दिन सक्नेछन्। यदि सो अवधिभित्र सबै इकाईका लागि माग बमोजिम आवेदन नपरेको खण्डमा निष्काशन अवधि जेठ ७ गतेसम्म थपिने क्यापिटलले जनाएको छ।
लगानीकर्ताले कम्तीमा १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
















