१० श्रावण २०८३, आइतबार

गरिमा विकास बैंकको नाफामा ४२.९१ प्रतिशतको वृद्धि, लाभांश क्षमता कति ?



गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा आफ्नो नाफामा उत्साहजनक सुधार गर्दै तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार समीक्षा अवधिमा खुद नाफा ४२.९१ प्रतिशतले बढेर १ अर्ब ४ करोड ८२ लाख ३१ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

बैंकको आम्दानीका मुख्य सूचकहरूमा पनि राम्रो वृद्धि देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.७१ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड ८९ लाख ६२ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ६६ करोड ९७ लाख ८० हजार रुपैयाँ रहेको थियो।

यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि २१.५३ प्रतिशतले बढेर ४३ करोड ७८ लाख ५५ हजार रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ४२.६४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड १६ लाख ४० हजार रुपैयाँ कायम भएको छ।

बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा पनि सुधार ल्याएको देखिन्छ। गत वर्षको चैत मसान्तसम्म ४.७८ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा घटेर ४.७७ प्रतिशत कायम भएको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३९ करोड ४ लाख ४५ हजार रुपैयाँ कायम भएको छ। नाफामा भएको उल्लेख्य वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १७ रुपैयाँ २२ पैसाबाट बढेर २३ रुपैयाँ २१ पैसा पुगेको छ।

वित्तीय अवस्था सुदृढ बन्दै जाँदा बैंकको लाभांश वितरण गर्ने क्षमता पनि मजबुत देखिएको छ। बैंकको वितरणयोग्य मुनाफा ६२ करोड ७२ लाख ३५ हजार रुपैयाँ रहेको छ। हाल ६ अर्ब २१ करोड ३४ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४४ करोड १८ लाख ७२ हजार रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ५८ पैसा कायम भएको छ।

व्यवसाय विस्तारका हिसाबले गरिमा विकास बैंकले चैत मसान्तसम्ममा ९ खर्ब ४३ अर्ब १३ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी ७ खर्ब ६२ करोड २९ लाख ३७ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको निक्षेप लागत ५.०७ प्रतिशतबाट घटेर ३.६१ प्रतिशतमा झरेको छ भने आधार दर पनि ६.९२ प्रतिशतबाट घटेर ५.३५ प्रतिशत कायम भएको छ