१० श्रावण २०८३, आइतबार

मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?



काठमाडौँ । नेपालको अग्रणी विकास बैंक, मुक्तिनाथ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकले अघिल्लो वर्षको तुलनामा आफ्नो खुद नाफामा ३० प्रतिशतभन्दा बढीको वृद्धि गर्न सफल भएको छ।

बैंकले सार्वजनिक गरेको ९ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले ९४ करोड २६ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म बैंकको यस्तो नाफा ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ मात्र थियो।

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा पनि ४.८७ प्रतिशतको वृद्धि देखिएको छ। समीक्षा अवधिमा बैंकले ३ अर्ब ४४ करोड ५८ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस्तै, बैंकको सञ्चालन मुनाफामा उल्लेख्य सुधार आएको छ। गत वर्ष १ अर्ब ३ करोड ५२ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष ३१.०४ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ६५ लाख ८३ हजार रुपैयाँ पुगेको छ।

नाफामा आएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। गत वर्ष १३ रुपैयाँ ७१ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्ष २ रुपैयाँले बढेर १५ रुपैयाँ ७१ पैसा कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ०९ पैसा र मूल्य आम्दानी अनुपात २४.१३ गुणा रहेको छ।

व्यापार विस्तारका हिसाबले बैंकले चैत मसान्तसम्म १ खर्ब १८ अर्ब ११ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ९७ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो असारको तुलनामा निक्षेपमा ०.५८ प्रतिशत र कर्जामा १.८१ प्रतिशतको वृद्धि भएको छ।

बैंकको खराब कर्जा ४.४१ प्रतिशतबाट केही बढेर ४.८८ प्रतिशत पुगेको छ। बैंकको कस्ट अफ फण्डमा कमी आएसँगै बेस रेट ७.४२ प्रतिशतबाट घटेर ५.८३ प्रतिशतमा झरेको छ, जसले गर्दा कर्जाको ब्याजदरमा समेत राहत पुग्ने देखिन्छ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३ लाख ८९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।