१३ श्रावण २०८३, बुधबार

बैंकिङ प्रणालीमा ’पैसाको थुप्रो’: अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४० अर्ब तान्दै



काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएर अधिक तरलताको स्थिति सिर्जना भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ झिक्ने प्रक्रिया सुरु गरेको छ।

अल्पकालीन मौद्रिक उपकरणको प्रयोग गर्दै राष्ट्र बैंकले बुधबार निक्षेप संकलनमार्फत सो रकम उठाउन लागेको हो। ४९ दिनको अवधिका लागि संकलन गर्न लागिएको यो रकमको साँवा र ब्याज भुक्तानी आगामी असार ३ गते हुनेछ।

यस प्रक्रियामा राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडले भाग जाने गरी अधिकतम ४० अर्ब रुपैयाँसम्मकै लागि बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।

पछिल्लो समय बैंकहरूमा निक्षेप बढे पनि सोही अनुपातमा कर्जा प्रवाह हुन नसक्दा प्रणालीमा पैसा थुप्रिएको र यसले ब्याजदरमा ल्याउन सक्ने अस्वभाविक उतारचढाव नियन्त्रण गर्न राष्ट्र बैंकले यो कदम चालेको हो।