बजारमा एकाएक ’ब्रेक’: ५० अंकको गिरावटसँगै नेप्सेमा पहिरो, के लगानीकर्ताको मनोबल धर्मराएकै हो त ?
काठमाडौं । शेयर बजारमा पछिल्लो समय देखिएको उत्साहमा यो साता भने एउटा ठुलो ’ब्रेक’ लागेको छ । उकालो लाग्ने लय पक्रिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो साता तीव्र उतारचढावका बीच ठुलो गिरावट आएको हो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार २७८८.७० विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा ४९.९८ अंकले खुम्चिएको छ । साताको अन्तिम दिन बुद्ध जयन्तीको सार्वजनिक बिदा परेका कारण ४ दिन मात्र कारोबार भएको बजारमा औसतमा दैनिक १२.४९ अंकको गिरावट देखिएको छ ।
यो साता लगानीकर्ताहरूमा ’पर्ख र हेर’ को स्थिति प्रस्ट देखियो । बजारमा ठुला लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा र साना लगानीकर्तामा थोरै त्रास उत्पन्न हुँदा परिसूचकमा दबाब परेको हो ।
समग्रमा यो साता कुल २१ अर्ब १८ करोड ३४ लाख ६२ हजार ५१६ रुपैयाँ ६ पैसा बराबरको शेयर खरिदबिक्री भएको छ । चार दिनको कारोबारलाई हेर्दा बजारमा दैनिक औसत ४ अर्ब २३ करोड ६६ लाख ९२ हजार ५०३ रुपैयाँको कारोबार भएको देखिन्छ । यसले बजार घटे पनि कारोबार रकममा भने अझै पनि एउटा तहको सक्रियता कायमै रहेको संकेत गर्छ ।
दिनभरिको उतारचढाव: उत्साहबाट सुरु, निरासामा अन्त्य
साताको पहिलो दिन सोमबार बजारले लगानीकर्तामा आशाको सञ्चार गरेको थियो । सोमबार नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा पुगेको थियो । उक्त दिन ३५१ वटा कम्पनीको १ करोड ९ लाख २८ हजार ६१७ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार १२७ रुपैयाँ ७६ पैसाको कारोबार भयो । साताको सुरुवात हरियो संकेतबाट हुँदा धेरैले बजारले नयाँ उचाइ लिने अपेक्षा गरेका थिए ।
तर, मंगलबारको बजारले भने लगानीकर्तालाई सोच्न बाध्य बनायो । मंगलबार परिसूचकमा २६.१६ अंकको ठुलो गिरावट आयो। परिसूचक २ हजार ७७०.२६ विन्दुमा झर्दा कारोबार रकम भने यो साताकै उच्च अर्थात् ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ रुपैयाँ ३६ पैसा पुग्यो। बजार घट्दा कारोबार रकम बढ्नुले बजारमा ’प्यानिक सेलिङ’ वा नाफा सुरक्षित गर्नेहरूको होडबाजी चलेको प्रस्ट पार्छ । उक्त दिन ३४९ कम्पनीका १ करोड ४० लाख १८ हजार ९२० कित्ता शेयर खरिदबिक्री भएका थिए ।
बुधबार पनि बजारको ओरालो यात्रा रोकिएन । परिसूचक २५.८१ अंकले घटेर २ हजार ७४४.४५ विन्दुमा ओर्लियो । ३५१ कम्पनीको कारोबार भएको यस दिन ४ अर्ब ९८ करोड ६३ लाख ३ हजार ३१३ रुपैयाँ ३८ पैसा बराबरको कारोबार भयो ।
साताको अन्तिम कारोबार दिन बिहीबार भने बजारमा गिरावटको गति केही सुस्त देखियो। बिहीबार परिसूचक ५.७३ अंकले मात्र घटेर २ हजार ७३८.७२ विन्दुमा रोकिएको छ । उक्त दिन ३४६ कम्पनीको ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ रुपैयाँ ५६ पैसाको कारोबार भएको थियो ।
प्राविधिक विश्लेषण र बजारको अबको बाटो
प्राविधिक रूपमा हेर्दा नेप्सेले यो साता २ हजार ८१२ को उच्च विन्दु र २ हजार ७०८ को न्यून विन्दु छोएको छ । बजार २ हजार ७८८ बाट घटेर २ हजार ७३८ को विन्दुमा आउनुले अल्पकालीन रूपमा बजार ’करेक्सन’ को मोडमा गएको बुझ्न सकिन्छ ।
लगातारको वृद्धिपछि बजारमा यस्तो करेक्सन आउनुलाई विश्लेषकहरूले स्वभाविक मान्ने गर्छन् । यद्यपि, ५० अंकको गिरावटले केही बलिया टेवा (सपोर्ट) विन्दुहरूलाई परीक्षण गरेको छ ।
बजारको यो साताको प्रवृत्तिलाई सूक्ष्म ढंगले नियाल्दा, कारोबार कित्ता र कारोबार संख्यामा पनि मंगलबारपछि क्रमिक गिरावट आएको छ । बिहीबारको न्यून अंकको गिरावटले बजार अब बिस्तारै स्थिर हुन खोजेको संकेत गर्छ। २ हजार ७०० को मनोवैज्ञानिक विन्दुभन्दा माथि नै परिसूचक रहनुले लगानीकर्ताहरू अझै पनि पूर्ण रूपमा निराश भइसकेका छैनन् भन्ने देखाउँछ ।
यो साताको कारोबारले बजारमा ’प्रफिट बुकिङ’ हाबी भएको र लगानीकर्ताहरू नयाँ मौद्रिक नीति वा अन्य नीतिगत स्पष्टताको पर्खाइमा रहेको बुझ्न सकिन्छ । आगामी साता बजारले यदि २ हजार ७०० को विन्दुलाई बलियो आधार बनाएर फर्कन सकेमा पुन: नयाँ उछाल आउन सक्ने सम्भावना कायमै छ ।
तर, यदि बिक्री चाप अझै बढ्दै गएमा लगानीकर्ताहरूले थप सतर्कता अपनाउनुपर्ने देखिन्छ । साताको औसत कारोबार ४ अर्ब माथि रहनुले बजारमा तरलताको अवस्था अझै सहज रहेको र लगानीकर्ताको उपस्थिति दरिलो रहेको पुष्टि गर्दछ ।













