महासंघ निर्वाचन: नेतृत्वका लागि प्यानलसहित चुनावी मैदानमा उद्यमी, कसले मार्ला बाजी?
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ।
काठमाडौंको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा बिहानैदेखि सुरु हुने निर्वाचन प्रक्रियामार्फत महासंघको आगामी कार्यसमितिका लागि नयाँ पदाधिकारी र सदस्यहरूको चयन गरिनेछ।
गत आइतबार ६० औं वार्षिक साधारण सभाको भव्य उद्घाटन भएपछि निर्वाचनको सबै तयारी पुरा गरी आज मतदानको कार्यतालिका तय गरिएको हो।

यस पटकको चुनावी मैदानमा दुईवटा स्पष्ट प्यानल देखिएका छन्, जसमा हेमराज ढकाल र शिवप्रसाद घिमिरेले आ-आफ्नो टोली सहित चुनावी कसरत गरिरहेका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकाल आफैँ मैदानमा उत्रिँदा घिमिरे समूहले भने हालसम्म वरिष्ठ उपाध्यक्षको उम्मेदवार औपचारिक रूपमा घोषणा गरेको छैन। यो समूहले पहिला कार्यसमिति चयन गर्ने र त्यसपछि मात्रै वरिष्ठ उपाध्यक्षको टुंगो लगाउने रणनीतिक योजना बनाएको छ, जसमा रामचन्द्र संघई मुख्य आकांक्षीका रूपमा देखिएका छन्।

महासंघको यो निर्वाचनमा वर्तमान नेतृत्वको समर्थन पनि विभाजित भएको छ। वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले हेमराज ढकालको प्यानललाई समर्थन गरिरहेका छन् भने विधान अनुसार आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्न लागेका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ भने शिवप्रसाद घिमिरेको समूहको पक्षमा उभिएका छन्। यसले निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।

उपाध्यक्ष पदका लागि दुवै पक्षबाट बलिया उम्मेदवारहरू चुनावी मैदानमा छन्। घिमिरे समूहबाट एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे तथा जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा प्रतिस्पर्धा गर्दैछन्। अर्कोतर्फ, हेमराज ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगरमा उमेश डालमिया र कल्पना गैरे तथा महिला उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेदवारी दिएका छन्।

विशेष गरी एसोसिएट उपाध्यक्ष पदका लागि ज्योत्सना श्रेष्ठ र प्रबलजंग पाण्डेबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। वर्तमान उपाध्यक्ष रहेकी ज्योत्सना र पाण्डे दुवै पक्षले ‘प्रोक्सी’ मत संकलनमा निकै जोड दिएका छन्। निर्वाचनको अन्तिम समयमा आएर केही व्यवसायीहरूमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा अघि बढेपछि यसले चुनावी गणितमा केही प्रभाव पार्ने र नयाँ समीकरण बन्न सक्ने अनुमान पनि उद्योगीहरूले गरेका छन्।




















