‘म्युचुअल फन्ड लगानीको एउटा आधुनिक र वैज्ञानिक उपकरण हो’ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘म्युचुअल फन्ड लगानीको एउटा आधुनिक र वैज्ञानिक उपकरण हो’



सानिमा क्यापिटलले पर्सि वैशाख २४ गतेदेखि सानिमा इक्वीटी फन्ड–२ बन्द मुखी योजना विक्रीमा ल्याएको छ । सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलले १ अर्ब बराबरको दश करोड इकाईको फन्ड निष्कासन गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विकास खनाल अहिले फन्डको विक्रीको लागी व्यस्त छन् । तरलताको बावजुत पनि बजारमा एकै पटक ४ ओटा कम्पनीको फन्ड निष्कासन हुन लागेकाले कम्पनीहरू आ–आफ्नो मार्केटिङमा व्यस्त छन् । लामो समय बैंक वित्तीय संस्थाको अनुभव सँगालेका विकास खनाल यसअघि कुमारी क्यापिटलको अध्यक्षसमेत थिए । उनै विकास खनालसँग अर्थपथले गरेको संवादको अंश प्रस्तुत गरेका छौँ । 

म्युचुअल फन्ड के हो र यसमा कस्ता लगानीकर्ताले लगानी गर्नुपर्छ प्रस्ट पारिदिनुहोस् न ?

म्युचुअल फन्ड (सामूहिक लगानी कोष) वास्तवमा करिब २०० वर्ष अगाडि युरोपबाट सुरु भएको एउटा अत्यन्तै प्रभावकारी लगानीको उपकरण हो । यसको मुख्य उद्देश्य भनेको लगानी गर्न इच्छुक तर बजारको गहिरो ज्ञान वा समय नभएका लगानीकर्ताहरूको पोर्टफोलियो व्यवस्थापन गरिदिनु हो । 

हामीले एउटा ‘पुल फन्ड’ खडा गर्छौँ, जहाँ साना–साना लगानीकर्ताहरूले आफ्नो बचत जम्मा गर्नुहुन्छ । यसरी संकलित ठुलो रकमलाई हामीजस्ता इन्भेस्टमेन्ट बैंकर वा मर्चेन्ट बैंकरहरूले व्यावसायिक रूपमा व्यवस्थापन गर्छौँ ।

यो पुल त्रिएट गरिसकेपछि हामीले विभिन्न लगानीका उपकरणहरू जस्तै– ऋणपत्र, शेयर र अन्य वित्तीय क्षेत्रमा रणनीतिक लगानी गर्छौँ । यसको मुख्य फाइदा भनेको साना लगानीकर्ताले पनि विज्ञहरूको सेवा पाउने र विविध क्षेत्रमा लगानी हुने भएकाले जोखिम बाँडफाँड हुनु हो । समग्रमा, यो एउटा यस्तो साझा प्लेटफर्म हो जहाँ लगानीकर्ताको सानो पुँजीलाई पनि व्यावसायिक ढङ्गले परिचालन गरी उचित प्रतिफल दिने प्रयास गरिन्छ ।

सानिमा क्यापिटलले यसअघि पनि फन्डहरू सञ्चालन गरिसकेको छ । अहिले पुनः १ अर्ब रुपैयाँको नयाँ फन्ड निष्कासन गर्दै हुनुहुन्छ, बजारबाट कस्तो प्रतिक्रिया आएको छ ?

सानिमा क्यापिटलको इतिहासलाई हेर्ने हो भने यो चौथो बन्द मुखी योजना हो । हामीले यसभन्दा अगाडि तीन वटा फन्डहरू सफलतापूर्वक ल्याइसकेका छौँ । 

तीमध्ये हाम्रो पहिलो योजना ‘सानिमा इक्विटी फन्ड–१’ अघिल्लो वर्ष आफ्नो ७ वर्षको निर्धारित अवधि पूरा गरी सफलतापूर्वक परिपक्व भइसकेको छ । हामीले त्यो फन्डका इकाई धनीहरूलाई उचित प्रतिफलसहित उहाँहरूको लगानी फिर्ता गरिसकेका छौँ, जसले बजारमा सकारात्मक सन्देश दिएको छ । 

हाल हामीसँग दुईवटा बन्द मुखी र एउटा खुला मुखी फन्ड चालु अवस्थामा छन् । अघिल्लो फन्डको सुखद समापन र लगानीकर्ताको विश्वासकै कारण हामीले नयाँ फन्डको लागि नियामक निकायबाट स्वीकृति पाएका हौँ । वैशाख २४ गतेबाट निष्कासन हुने यो नयाँ फन्डसँगै हामीसँग तीन वटा बन्द मुखी र एउटा खुला मुखी गरी कुल चारवटा सक्रिय योजनाहरू हुनेछन् । 

अहिलेसम्मको रेस्पोन्स हेर्दा लगानीकर्ताहरू सानिमाको व्यवस्थापकीय क्षमताप्रति निकै आश्वस्त देखिनुहुन्छ, जुन हाम्रा लागि खुसीको कुरा हो ।

अहिले शेयर बजारमा निकै उतारचढाव देखिएको छ । यस्तो चुनौतीपूर्ण समयमा ल्याइएको म्युचुअल फन्डले इकाई धनीहरूलाई कसरी राम्रो प्रतिफल दिन सक्छ ? यसको सुनिश्चितता कसरी गर्नुहुन्छ ?

म्युचुअल फन्ड वास्तवमा लगानीको एउटा आधुनिक र वैज्ञानिक उपकरण हो । 

बैंक तथा वित्तीय संस्थामा निक्षेपकर्ताले रकम राख्दा जसरी बचत वा मुद्दती निक्षेपमा ब्याजदर सुनिश्चित गरिएको हुन्छ, म्युचुअल फन्डमा त्यसरी नै ‘यति नै प्रतिफल दिन्छौँ’ भनेर किटान गर्न सकिने अवस्था रहँदैन । 

किनभने, हामीले लगानीकर्ताबाट संकलित रकमलाई पुनः बजारका विभिन्न क्षेत्रमा लगानी गर्छौँ र त्यहाँबाट प्राप्त हुने वास्तविक मुनाफाको आधारमा मात्र इकाई धनीहरूलाई प्रतिफल वितरण गरिन्छ ।

त्यसैले, बैंकको निक्षेपमा जस्तो प्रतिफल दर पहिले नै निश्चित हुँदैन । यही कारणले हामी कुनै पनि योजनामा सहभागी हुनुअघि लगानीकर्ताहरूलाई सम्बन्धित योजनाको विवरण पुस्तिका गम्भीरतापूर्वक अध्ययन गर्न आग्रह गर्दछौँ ।

यद्यपि, ऐतिहासिक तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने नेपालको सन्दर्भमा बैंकको बचतमा औसत ४–५ प्रतिशत र मुद्दती निक्षेपमा ७–८ प्रतिशत (कहिलेकाहीँ १० प्रतिशतसम्म पुगे पनि औसतमा कम) प्रतिफल देखिन्छ । 

तर, म्युचुअल फन्डको विगतको इतिहास हेर्दा यसले ९ देखि १२ प्रतिशतसम्मको औसत प्रतिफल दिएको सुखद उदाहरणहरू छन् । कुनै विशेष वर्षमा बजारको अवस्थाअनुसार प्रतिफलमा केही कमी आए पनि दीर्घकालीन रूपमा यसले बैंकको ब्याजदरभन्दा आकर्षक नतिजा प्रदान गरेको देखिन्छ ।

हामीले अहिले निष्कासन गर्न लागेको १० वर्षे अवधिको बन्द मुखी योजना हो । १० वर्षको लामो कालखण्डमा बजारमा धेरै उतारचढावहरू आउँछन् । कुनै वर्ष बजार सुस्त रहँदा प्रतिफल केही कम हुन सक्छ भने कुनै वर्ष बजार उत्साहजनक हुँदा अपेक्षाभन्दा बढी प्रतिफल प्राप्त हुन्छ । 

विगतको १० वर्षे प्रवृत्तिलाई आधार मान्दा म्युचुअल फन्डले औसतमा १० प्रतिशतको हाराहारीमा प्रतिफल दिएको देखिन्छ ।

धेरै व्यक्तिगत लगानीकर्ताहरू शेयर बजारमा लगानी गर्न इच्छुक हुनुहुन्छ, तर कहिले पर्याप्त पुँजीको अभाव त कहिले बजारको गहिरो प्राविधिक ज्ञान वा विशेषज्ञता नहुँदा उहाँहरू जोखिममा पर्नुहुन्छ । 

हामीजस्ता कोष व्यवस्थापकहरूले त्यही अभावलाई पूर्ति गर्दछौँ । हामीले लगानी गर्दा एउटै कम्पनी वा एउटै मात्र वित्तीय उपकरणमा सम्पूर्ण रकम लगाउँदैनौँ । हामीले विभिन्न क्षेत्र, स्क्रिप्ट र उपकरणहरूमा रणनीतिक रूपमा पुँजी विविधीकरण गर्दछौँ ।

हाम्रो विज्ञ टोलीले बजारको उतारचढावलाई सूक्ष्म रूपमा व्यवस्थापन गर्दै जोखिम न्यूनीकरण गर्ने र अधिकतम प्रतिफल निकाल्ने प्रयास गर्दछ । 

त्यसैले, जोसँग लगानीको इच्छा छ तर बजार आफैँ विश्लेषण गर्न सक्ने समय वा विशेषज्ञता छैन, उहाँहरूका लागि म्युचुअल फन्ड आजको दिनमा सबैभन्दा सुरक्षित र उपयुक्त लगानीको माध्यम हो ।

शेयर बजार घटिरहेको बेला लगानीकर्ताहरूमा स्वाभाविक रूपमा जोखिमको त्रास हुन्छ, तपाईँहरूले संकलन गरेको रकमको सुरक्षा र प्रतिफलको सन्तुलन कसरी मिलाउनुहुन्छ ?

बजारलाई हेर्ने दृष्टिकोण फरक हुन सक्छ । कसैले यसलाई जोखिमपूर्ण देख्नुहुन्छ भने हामीजस्ता पोर्टफोलियो म्यानेजरले यसलाई अवसरको रूपमा पनि लिन्छौँ । 

हामीले संकलन गरेको फन्डलाई तत्कालै सबै शेयरमा खन्याउँदैनौँ। हाम्रो विज्ञ टोलीले बजारको उतारचढावलाई सूक्ष्म रूपमा अध्ययन गरेर मात्र ‘इन्ट्री’ गर्छ । हामी शेयर बजारमा मात्र सीमित हुँदैनौँ; डिबेन्चर (ऋणपत्र), बैंक मुद्दती निक्षेप र केही रकम तरल अवस्थामा राखेर समय र परिस्थितिको सदुपयोग गर्छौँ । 

यो योजना १० वर्षको भएकाले यसले बजारको पूर्ण साइकललाई कभर गर्छ। १० वर्षको अवधिमा अर्थतन्त्र र बजारमा आउने सुधारले लगानीलाई परिपक्व बनाउँछ। 

हामीले एउटै कम्पनी वा एउटै क्षेत्रमा मात्र पैसा लगाउँदैनौँ, जसले गर्दा जोखिम बाँडिन्छ। त्यसैले उतारचढावकै बिचबाट पनि एक तहको सुरक्षित र सन्तोषजनक प्रतिफल निकाल्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ । 

यो दीर्घकालीन लगानी भएकाले तत्कालीन बजारको गिरावटले आत्तिनुपर्ने अवस्था रहँदैन ।

आह्वान पत्र जारी भएपछि लगानीकर्ताको उत्साह कस्तो पाउनुभएको छ ? अहिलेको तरलताको अवस्थाले यसलाई कस्तो प्रभाव पार्ला ?

अहिले बजारमा लगानीकर्ताको रेस्पोन्स निकै राम्रो छ । संयोगवश, अहिले बैंकिङ प्रणालीमा तरलता पनि अलि सहज भएको अवस्था छ । 

धेरै व्यक्तिगत र संस्थागत लगानीकर्ताहरू हामीसँग भएको पैसा कहाँ सुरक्षित र लाभदायक ठाउँमा लगाउने भनेर सोधखोज गरिरहनुभएको छ । मुद्दती निक्षेप बाहेकका अन्य उपयुक्त लगानीको इन्स्टुमेन्टहरू नभेटिरहेको अवस्थामा म्युचुअल फन्ड उहाँहरूका लागि उत्कृष्ट विकल्प हो । 

विगतको हिस्ट्री र १० वर्षको लामो अवधिलाई हेर्दा यो लगानीका लागि उपयुक्त समय हो, त्यसैले बजारमा अहिले सकारात्मक उत्साह छ ।

नेपालमा म्युचुअल फन्डमा अझै पनि संस्थागत लगानीकर्ताको वर्चस्व छ र सर्वसाधारणको सहभागिता न्यून छ । पुँजी बजारमा आम जनताको पहुँच र सक्रियता बढाउन के–के सुधार गर्नुपर्छ जस्तो लाग्छ ?

नेपालमा बन्द मुखी म्युचुअल फन्ड सुरु भएको करिब २०–२२ वर्ष भयो र खलामुखीको अभ्यास त झन् भर्खरै (१२–१५ वर्ष) सुरु भएको हो । 

छिमेकी मुलुक भारतको तुलनामा हाम्रो बजार भर्खरै बामे सर्दैछ । त्यसैले सर्वसाधारणमा म्युचुअल फन्ड सम्बन्धी सचेतना अझै कम हुनु स्वाभाविक हो । यसमा हामी मर्चेन्ट बैंकर, क्यापिटल मार्केटका खेलाडी र नियामक निकाय (धितोपत्र बोर्ड) सबैको संयुक्त प्रयास आवश्यक छ ।

जसरी बैंकिङ पहुँचका लागि ‘बैंकिङ साक्षरता’ चलाइयो, त्यसरी नै ‘क्यापिटल मार्केट साक्षरता’ अभियानलाई तीव्रता दिनुपर्छ। नियामकले पनि यसमा सघाइरहनुभएको छ । 

विशेष गरी खुला मुखी फन्ड अन्तर्गतको एसआईपी (सिस्टम्याटिक इन्भेस्टमेन्ट प्लान) ले भोलिका दिनमा सर्वसाधारणलाई जोड्न ठुलो भूमिका खेल्नेछ । थोरै–थोरै रकम मासिक रूपमा जम्मा गर्ने पद्धतिले गर्दा भविष्यमा यस क्षेत्रको भविष्य असाध्यै उज्ज्वल देख्छु। बिस्तारै जनचेतना बढ्दै जाँदा संस्थागतसँगै व्यक्तिगत लगानीकर्ताको हिस्सा पनि उल्लेख्य रूपमा बढ्नेछ ।

यो फन्डमा लगानी गर्ने इकाई धनीहरूका लागि स्पष्ट भनिदिनुस्, आगामी वर्ष तपाईँहरूले कति प्रतिशतसम्म प्रतिफल दिन सक्नुहुन्छ ? तपाईँहरूको रिटर्न प्रोजेक्सन के छ ? 

मैले अघि पनि स्पष्ट पारेको थिएँ, म्युचुअल फन्डमा ‘ठ्याक्कै यति नै प्रतिशत प्रतिफल दिन्छौँ’ वा ‘यो वर्ष नै यति मुनाफा हुन्छ’ भनेर किटान गरेर भन्न सकिने अवस्था रहँदैन । 

म्युचुअल फन्ड एक वा दुई वर्षका लागि मात्र परिकल्पना गरिएको योजना होइन । यो अलि दीर्घकालीन प्रकृतिको, सामान्यतया ८ देखि १० वर्षको अवधिसम्म सञ्चालन हुने योजना हो ।

अन्तमा, १ अर्बको यो फन्ड ४ कार्य दिनमै बिक्री हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ? 

हामी पूर्ण रूपमा आशावादी छौँ । अहिलेको बजारको तरलता स्थिति, सानिमा क्यापिटलको विगतको रेकर्ड र लगानीकर्तामा बढ्दै गएको चेतनाका कारण यो फन्ड ४ दिनभित्रै सफलतापूर्वक बिक्री हुनेमा हामी ढुक्क छौँ । 

हामीलाई व्यक्तिगत मात्र होइन, संस्थागत लगानीकर्ताहरूबाट पनि निकै राम्रो प्रतिबद्धता प्राप्त भइरहेको छ ।

लगानीकर्ताहरूलाई मेरो सन्देश के छ भने, म्युचुअल फन्डलाई एक वा दुई वर्षको अल्पकालीन चस्माले नहेर्नुहोस् । यो ८ देखि १० वर्षको एउटा करियरको ग्राफ जस्तै हो, जसमा उतारचढाव हुनु सामान्य हो । 

तर, आजको दिनमा यस फन्डमा लगानी गर्ने व्यक्ति वा संस्था १० वर्षपछि पक्कै पनि निराश हुनुपर्ने छैन । इमानदारीका साथ यो फन्ड म्यानेज गर्नेछौँ ताकि लगानीकर्ताले उत्कृष्ट रिटर्न पाउन सकुन् । त्यसैले ढुक्क भएर यो अवसरको सदुपयोग गर्न म सबैलाई आग्रह गर्दछु ।


प्रतिक्रिया दिनुहोस्