बढ्दो उत्पादन लागत र वित्तीय खर्चले दबाबमा रिलायन्स स्पिनिङ्ग मिल्स, नाफासँगै घट्यो प्रतिशेयर आम्दानी
काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्सको खुद नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा १७.७ प्रतिशतले घटेर २६ करोड ६८ लाख रुपैयाँमा खुम्चिएको हो।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।
समिक्षा अवधिमा कम्पनीको आम्दानीमा पनि उल्लेखनीय सुधार हुन सकेको छैन। चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ४६ करोड ४ लाख ६० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँ थियो।
वित्तीय विवरण अनुसार कम्पनीको नाफा घट्नुमा खर्चहरूको बढोत्तरी मुख्य कारण देखिएको छ। यस अवधिमा कम्पनीको बिक्री लागत ६ अर्ब ५१ करोड १८ लाख ३५ हजार रुपैयाँ रहेको छ, जुन गत वर्ष ६ अर्ब ३६ करोड ३२ लाख २९ हजार रुपैयाँ थियो। त्यस्तै, प्रशासनिक तथा अन्य खर्चहरू पनि बढेर २९ करोड ६६ लाख २७ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको अन्य वित्तीय सुचकहरू तर्फ, चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा ७ अर्ब ५५ करोड ६ लाख ६ हजार रुपैयाँ सञ्चित छ। कम्पनीको कुल सम्पत्ति १४ अर्ब ८ करोड ६८ लाख २८ हजार रुपैयाँ कायम भएको छ।
प्रतिशेयर आम्दानी (वार्षिक) २०.४२ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ४९७.३७ रुपैयाँ छ। समिक्षा अवधिमा कम्पनीको तरलता अनुपात २.०० रहेको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीले प्रतिकूल राजनीतिक परिस्थिति र चुनौतीपूर्ण आर्थिक वातावरणका बीच पनि आफ्नो आन्तरिक व्यापारिक गतिविधिलाई निरन्तरता दिइरहेको छ। यद्यपि, बढ्दो वित्तीय लागत कम्पनीका लागि टाउको दुखाइ बनेको छ।
व्यवसाय सञ्चालनका क्रममा कम्पनीले विभिन्न बाह्य र आन्तरिक अवरोधहरू खेप्नुपरेको छ। विशेषगरी नेपाल विद्युत प्राधिकरणले गरिरहेको अघोषित लोडसेडिङका कारण उत्पादन चक्रमा प्रत्यक्ष नकारात्मक प्रभाव परिरहेको कम्पनीले जनाएको छ। यसका साथै, लामो समयदेखि चल्दै आएको डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुलको विवाद सुल्झिनुको साटो थप पेचिलो बन्दै गएको छ। महसुल र जरिवाना सम्बन्धी यो मुद्दा हाल पाटन उच्च अदालतमा विचाराधीन अवस्थामा रहेको वित्तीय विवरणमा उल्लेख छ।
विश्व बजारमा देखिने अस्थिरताले पनि कम्पनीको वित्तीय स्वास्थ्यमा असर पारेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने नीतिगत फेरबदल र अमेरिकी डलरको विनिमय दरमा आउने उतारचढावले कच्चा पदार्थको खरिद लागत महँगो बनाइदिएको छ। यस्ता बाह्य चुनौतीहरूका कारण उत्पादन लागत बढेपछि कम्पनीको समग्र नाफामा प्रत्यक्ष असर परेको देखिन्छ।













