खस्किँदै शुभश्री जगदम्बा सिमेन्टको साखः अर्बौँको व्यापार गरे पनि ऋणको भारले थिचिँदै कम्पनी
काठमाडौँ । नेपालका प्रतिष्ठित व्यावसायिक घराना शंकर र शौरभ ग्रुपको लगानी रहेको शुभश्री जगदम्बा सिमेन्टस् मिल्स लिमिटेडको व्यापारमा निकै उतार चढाव देखिएकाे छ।
पछिल्लाे ५ वर्षकाे तथ्यांक हेर्दा आर्थिक वर्ष २०२२ मा ४ अर्ब २१ करोड ४० लाख रुपैयाँ बराबरकाे सिमेन्टकाे व्यापार गरेकाे कम्पनीले २०२३ मा आउँदा घटेकाे देखिन्छ। आर्थिक वर्ष २०२३ मा कम्पनीकाे व्यापार २३.२५ प्रतिशतले घटेर ३ अर्ब २३ करोड ४० लाख रुपैयाँमा खुम्चिएको थियो।
यस्तै आर्थिक वर्ष २०२४ मा व्यापार थप ४१.१५ प्रतिशतले घटेर १ अर्ब ९० करोड ३० लाख रुपैयाँमा खुम्चिएको थियो।आर्थिक वर्ष २०२५ मा भने कम्पनिकाे व्यापार केहि सुधारिँदै ३ अर्ब ६० करोड रुपैयाँ पुगेको देखिन्छ।
अन्य वित्तीय सूचकहरू हेर्दा कम्पनीको सञ्चालन मुनाफा मार्जिन निकै अस्थिर देखिएको छ। आर्थिक वर्ष २०२२ मा ९.७ प्रतिशत रहेको मुनाफा मार्जिन २०२४ मा ३.१ प्रतिशतको न्यून विन्दुमा झरेको थियो । हाल आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा यो केही सुधारिएर ४.६ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०२४ मा कम्पनीको ऋण तिर्ने क्षमता ०.५ गुणामा खुम्चिएर ब्याज तिर्न समेत कठिन अवस्था सिर्जना भएकोमा, आर्थिक वर्ष २०२५ मा उल्लेख्य सुधार आउँदै २.७ गुणा पुगेको छ भने आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा यो सूचक २.४ गुणाको हाराहारीमा रहेको छ, जसले कम्पनी अझै पनि ब्याज भुक्तानी गर्न सक्ने तुलनात्मक रूपमा सहज अवस्थामा रहेको देखाउँछ।
कम्पनीको ऋण र खुद सम्पत्तिको अनुपात आर्थिक वर्ष २०२२ मा २.६ गुणा रहेकोमा २०२५ मा घटेर ०.५ गुणामा सीमित भएको थियो भने हाल यो बढेर १.८ गुणा पुगेको छ । त्यस्तै, कुल बाह्य दायित्व र खुद सम्पत्तिको अनुपात २.६ गुणा पुग्नुले कम्पनीमाथि बाह्य दायित्वको भार अझै उच्च रहेको देखाउँछ ।
कार्यकारी पूँजी व्यवस्थापनमा कम्पनीले चुनौती खेपिरहेको छ। आम्दानीको तुलनामा कार्यपुँजीको आवश्यकता आ.व. २०२५ मा ११ प्रतिशत रहेकोमा हाल ५२ प्रतिशत पुगेको छ ।
हाल कम्पनीले मुख्य गरी तीनवटा चुनौतीहरू झेलिरहेको छ। पहिलो, सिमेन्ट बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धा र मागमा आएको गिरावट हो। दोस्रो, बजारबाट उधारो पैसा समयमै नउठ्दा नगद प्रवाहमा देखिएको दबाब हो, जसले गर्दा कार्यपुँजी व्यवस्थापन कठिन बनेको छ।
तेस्रो चुनौतीको रूपमा ऋणको उच्च ब्याज र किस्ताको भार रहेको छ। ‘जगदम्बा’ जस्तो स्थापित ब्रान्ड र सर्वोत्तम सिमेन्टले व्यवस्थापन सम्हालेका कारण केही राहत मिले पनि, सुस्त अर्थतन्त्र र निर्माण क्षेत्रको मन्दीले कम्पनीलाई अझै केही समय दबाबमा राख्ने देखिन्छ।
कम्पनीले सामना गरिरहेका वित्तीय चुनौती र बजारको अस्थिरतालाई मध्यनजर गर्दै इक्रा नेपालले कम्पनीको १ अर्ब ५२ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि ‘ए फोर’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीसँग आफ्नो अल्पकालीन वित्तीय दायित्वहरू (ऋण तथा ब्याज) भुक्तान गर्ने क्षमता ‘औसत’ रहेको संकेत गर्दछ।













