ट्रायम्फ नेपालको सात दिने एपिक राइड सम्पन्न: ४,६२० मिटरको उचाइमा ‘ट्रेल्स अफ द माउन्टेन लेक्स’
काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. अन्तर्गतको ट्रायम्फ नेपालले मोटरसाइकल र्याली “ट्रायम्फ एपिक राइड: मनाङ एडिसन- ट्रेल्स अफ द माउन्टेन लेक्स” सफलतापूर्वक सम्पन्न गरेको छ।
सन् २०२६ अप्रिल २५ देखि मे १ सम्म आयोजना गरिएको यो सात दिने साहसिक यात्रामा ट्रायम्फका राइडरहरूले हिमाली भू-भागको अविस्मरणीय अनुभव बटुलेका छन्।
काठमाडौं र इटहरीबाट सुरु भएको यस यात्रामा राइडरहरूले ट्रायम्फका प्रसिद्ध मोडेलहरू स्पीड ४००, स्क्र्याम्ब्लर ४०० एक्स र स्क्र्याम्ब्लर ४०० एक्ससी मोटरसाइकल प्रयोग गरेका थिए। विकट हिमाली बाटो, अफ-रोड चुनौती र उच्च हिमाली पासहरू पार गर्दै राइडरहरूले यी मोटरसाइकलहरूको प्रदर्शन र क्षमताको परीक्षण समेत गरे।
यस यात्राको सबैभन्दा रोमाञ्चक र कठिन बिन्दु ४,६२० मिटरको उचाइमा रहेको ‘आइस लेक’ (किचो ताल) थियो। चामे र मनाङको अल्पाइन भू-भाग छिचोल्दै राइडरहरूले ग्रीन लेक र ब्लु लेकको मनोरम दृश्य अवलोकन गरेका थिए। ४ हजार मिटरभन्दा माथिको उचाइमा मोटरसाइकल चलाउँदाको अनुभवले राइडरहरूलाई नयाँ उर्जा प्रदान गरेको थियो।
सात दिने यात्राका क्रममा राइडरहरूले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई नजिकबाट नियाल्ने मौका पाए। पहिलो दिन नारायणगढमा भेला भएका उनीहरू बेसिसहर र चामे हुँदै मनाङ पुगेका थिए। मनाङ र आइस लेकको सफल आरोहणपछि राइडरहरूको समूह भारी वर्षाको सामना गर्दै चितवनको मेघौली पुग्यो। त्यसपछि तराईको लामो दूरी पार गर्दै सांस्कृतिक नगरी जनकपुर पुगेर अन्तिम दिन आफ्नो गन्तव्यतर्फ फर्किएका थिए।
मनाङको शितल हावा र हिमाली दृश्यदेखि जनकपुरको जानकी मन्दिर अवलोकनसम्मको यो यात्रा साहसिक मात्र नभई सांस्कृतिक रूपमा पनि उत्तिकै समृद्ध रहेको थियो। यात्राका क्रममा राइडरहरूले पहाडी घुमाउरो बाटो, साँघुरा हिमाली मार्ग र तराईका खुला राजमार्गहरूको अनुभव सँगाले।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले यस यात्रालाई केवल एउटा मोटरसाइकल यात्रा मात्र नभई बिर्सनै नसकिने रोमाञ्चक यादहरूको संगालो भएको बताएका छन्। “मनाङ एडिसनले राइडरहरूलाई प्रकृतिसँग जोड्नुका साथै मोटरसाइकल राइडिङको वास्तविक आनन्द र आत्मविश्वास प्रदान गरेको छ,” उनले भने।













