पर्यटन पूर्वाधारमा ३ अर्बभन्दा बढीको लगानी गरेको बन्दीपुर केवलकार अझै नोक्सानीमा, अन्य वित्तिय सूचक कस्ता ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पर्यटन पूर्वाधारमा ३ अर्बभन्दा बढीको लगानी गरेको बन्दीपुर केवलकार अझै नोक्सानीमा, अन्य वित्तिय सूचक कस्ता ?



काठमाडाैं । बन्दीपुर केवल कार एन्ड टुरिजम लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको घाटामा वृद्धि भएको देखिएको छ।

सञ्चालन आम्दानीमा आएको संकुचन र बढ्दो खर्चका कारण कम्पनीको वित्तीय अवस्था दबाबमा परेको हो। चैत मसान्तसम्मको विवरणअनुसार कम्पनीले १ करोड १६ लाख ११ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको २ करोड २६ लाख ३७ हजार रुपैयाँको तुलनामा करिब ४८ प्रतिशतले कम हो।

आम्दानीमा आएको यो गिरावटका कारण कम्पनीको खुद नोक्सानी १ करोड ६२ लाख ६२ हजार रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो नोक्सानी १ करोड २४ लाख ९३ हजार रुपैयाँ मात्र थियो।

कम्पनीको खर्च तर्फको भार पनि उत्तिकै उच्च रहेको वित्तीय विवरणले देखाउँछ। यस अवधिमा कुल खर्च २ करोड ४८ लाख ४५ हजार रुपैयाँ पुगेको छ, जसमा कर्मचारी खर्च, प्रशासनिक खर्च र ह्रासकट्टी (डेप्रिसिएसन) को ठूलो हिस्सा छ।

कम्पनीले हाल होटल तथा अन्य पर्यटन पूर्वाधारहरू निर्माणको चरणमै रहेकाले सञ्चालन खर्च बढ्नु र प्रतिफल आउन बाँकी रहनुलाई घाटाको मुख्य कारण मानिएको छ।

यद्यपि, अघिल्लो वर्षको तुलनामा कम्पनीको नगद मौज्दातमा भने सुधार आएको छ। गत वर्ष चैतमा २६ लाख ९ हजार रुपैयाँ मात्र रहेको नगद तथा नगद सरहको मौज्दात अहिले बढेर ६ करोड ४७ लाख ७२ हजार रुपैयाँ पुगेको छ।

पूँजीगत संरचना र लगानीको हिसाबले कम्पनीले पूर्वाधार निर्माणमा ठूलो रकम परिचालन गरिरहेको देखिन्छ। विवरणअनुसार कम्पनीको कुल गैर-चालु सम्पत्ति ३ अर्ब २८ करोड १४ लाख रुपैयाँ पुगेको छ, जसमा निर्माणाधीन पूँजीगत कार्य (क्यापिटल वर्क-इन-प्रोग्रेस) को हिस्सा मात्रै १ अर्ब ५२ करोड ८३ लाख रुपैयाँ बराबर छ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ रहे पनि निरन्तरको घाटाका कारण जगेडा कोष २२ करोड ९३ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

कम्पनीले होटल सञ्चालनमा आएपछि र पर्यटकीय गतिविधि बढ्दै गएपछि वित्तीय अवस्थामा सुधार आउने अपेक्षा गरेको छ।

समिक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ९० पैसा रहेको छ।


प्रतिक्रिया दिनुहोस्