बजारको मन्दीबीच अग्नी सिमेन्टको छलाङ: ५८ करोडको व्यापारसँगै १ अर्ब ५ करोडको कर्जा रेटिङ सुरक्षित
काठमाडौँ । नेपाली सिमेन्ट बजारमा ‘अग्नी’, ‘ओरियन्ट’, ‘त्रिदेव’ र ‘अल्फा’ जस्ता ब्राण्डमार्फत चिनिएको अग्नी सिमेन्ट इन्ड्रष्ट्रिज लिमिटेडको व्यापारमा उल्लेख्य सुधार देखिएको छ। केयर रेटिङ्स नेपालका अनुसार पछिल्लो एक वर्षमा कम्पनीको सञ्चालन आम्दानीमा करिब ४६ प्रतिशतको बढेको छ ।
आर्थिक वर्ष २०२५ मा कम्पनीले ५८ करोड ९० लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिङ्कर बिक्री गरेको छ, जबकि अघिल्लो आर्थिक वर्ष २०२४ मा यस्तो व्यापार ३९ करोड ८० लाख रुपैयाँमा सीमित थियो । यसअघि आर्थिक वर्ष २०२३ मा ६७ करोड रुपैयाँको कारोबार गरेको थियाे ।
कम्पनीको व्यापार बढे पनि सञ्चालन नाफा दरमा भने ठूलो गिरावट आएको छ। आर्थिक वर्ष २०२४ मा १२.२६ प्रतिशत रहेको सञ्चालन नाफा दर २०२५ मा घटेर ३.४५ प्रतिशतमा झरेको छ ।
उत्पादन लागतमा भएको वृद्धि र बजारको तीव्र प्रतिस्पर्धाका कारण सञ्चालन नाफा रकम ४ करोड ९० लाखबाट घटेर २ करोड रुपैयाँमा खुम्चिएको छ ।
कम्पनीको ऋण तिर्ने क्षमता निकै कमजोर देखिएको छ। उच्च ब्याज खर्च र सञ्चालन नाफामा आएको कमीका कारण यो सूचक आर्थिक वर्ष २०२५ मा ०.३३ गुणा मात्र रहेको छ । यसले कम्पनीले आफ्नो सञ्चालन नाफाबाट बैंकको ब्याज भुक्तानी गर्न पनि संघर्ष गरिरहेको संकेत गर्दछ ।
पूँजी संरचनाको हिसाबले कम्पनी अझै पनि ऋणको भारमा रहेको देखिन्छ। यद्यपि, अघिल्लो वर्ष ३.१२ गुणा रहेको कुल ऋण र खुद सम्पत्तिको अनुपातमा सुधार भई २०२५ को अन्त्यसम्म २.३० गुणा कायम भएको छ । कुल ऋण र नगद आम्दानीको अनुपात भने ४६.५४ गुणा रहेको छ, जसले ऋण चुक्ता गर्न लामो समय लाग्ने देखाउँछ ।
कम्पनीको तरलता र दायित्व भुक्तानी क्षमता सन्तुलित देखिएको छ। चालू सम्पत्ति र चालू दायित्वको अनुपात १.५२ गुणा रहेको छ, जुन सन्तोषजनक मानिन्छ । यद्यपि, उधारो उठाउन लाग्ने समय ५२० दिन र कुल सञ्चालन चक्र ४९१ दिन रहेकाले कम्पनीको नगद प्रवाहमा केही दबाब देखिएको छ ।
सन् २००७ मा स्थापना भएको यो कम्पनी सन् २०२२ मा प्राइभेटबाट पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो । कम्पनीले हाल दैनिक ९०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । कम्पनीको नेतृत्व अनुभवी व्यवसायी कृष्णप्रसाद पोखरेलले गरिरहेका छन् ।
कम्पनीले आफ्नो उत्पादन पूर्वी र मध्य नेपालका ९ वटा अञ्चलका ३१ जिल्लाहरूमा विस्तार गरेको छ । आफ्नै क्लिङ्कर प्लान्ट नभएका कारण अन्य उद्योग र समूहकै ‘शुभश्री अग्नी सिमेन्ट’ बाट कच्चा पदार्थ खरिद गर्नुपर्ने बाध्यता कम्पनीका लागि नाफा बढाउने मुख्य चुनौती बनेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका १ अर्ब ५ करोड रुपैयाँ रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५४ करोड ५८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० करोड ४१ लाख रुपैयाँको रेटिङ गराएको छ।
केयर रेटिङ नेपालले दीर्घकालीन कर्जा सीमाका लागि ‘बी माइनस’ र अल्पकालीन कर्जा सीमाका लागि ‘ए फोर’ रेटिङ दिएकाे छ।













