जलविद्युत्का दुई पावर हाउसबीच रोचक प्रतिस्पर्धा: आकर्षक प्रतिशेयर आम्दानी कि दीर्घकालीन वित्तीय सुरक्षा ?
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रबाट नेतृत्व गरिरहेका दुई प्रमुख कम्पनी अपि पावर र बुटवल पावरबीच पछिल्लो वित्तीय नतिजामा रोचक प्रतिस्पर्धा देखिएको छ।
मंगलबार सार्वजनिक भएकाे कम्पनीकाे तेस्रो त्रैमासिक विवरण अनुसार दुवै कम्पनीले आफ्नो खुद नाफामा बढाउन सफल भएका छन्।
खुद नाफा वृद्धिको प्रतिशतलाई हेर्दा अपि पावर कम्पनी बुटवल पावरभन्दा निकै अगाडि देखिएको छ। अपि पावरले गत वर्षको तुलनामा ८६.४६ प्रतिशतले नाफा बढाएर ६५ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ। उता, बुटवल पावरले पनि ४२.३३ प्रतिशतको सम्मानजनक वृद्धि गर्दै २९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। नाफाको आकार र वृद्धिदर दुवैमा यो पटक अपि पावरले बाजी मारेको छ।
विद्युत् बिक्रीबाट हुने आम्दानीमा पनि दुवै कम्पनीको ग्राफ उकालो लागेको छ। अपि पावरले विद्युत् बिक्रीबाट १ अर्ब ३० करोड ४३ लाख रुपैयाँ सङ्कलन गर्दा बुटवल पावरको आम्दानी ६२ करोड २७ लाख रुपैयाँ पुगेको छ।
अपि पावरसँग ४० मेगावाटको माथिल्लो चमेलियासहितका विभिन्न आयोजनाहरू सञ्चालनमा रहेकाले उसको सञ्चालन आम्दानी बलियो देखिएको हो। बुटवल पावरले भने आफ्ना ठूला आयोजनाहरू (मनाङ मर्स्याङ्दी क्यास्केड) निर्माणको चरणमा रहेकाले आगामी वर्षहरूमा आम्दानी अझै बढ्ने प्रक्षेपण गरेको छ।
सङ्ख्यात्मक नाफामा अपि अगाडि देखिए पनि वित्तीय आधारमा भने बुटवल पावर निकै सुदृढ छ।टवल पावरको प्रतिशेयर नेटवर्थ २१०.३३ रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ७६ करोड रुपैयाँ सञ्चित छ, जुन अपि पावरको तुलनामा निकै बढी हो। अपि पावरको प्रतिशेयर नेटवर्थ ११५.३२ रुपैयाँ र जगेडा कोषमा ९७ करोड ७६ लाख रुपैयाँ रहेको छ। तर, प्रतिशेयर आम्दानी (ईपीएस) मा भने अपि पावर १३.७६ रुपैयाँसहित बुटवल पावर (८.७८ रुपैयाँ) भन्दा अगाडि छ।
अपि पावरले सहायक कम्पनी तथा अन्य क्षेत्रमा गरेको लगानी बढेर ४ अर्ब २ करोड ७४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल सम्पत्ति १६ अर्ब ८ करोड ९६ लाख रुपैयाँ पुगेको छ। वित्तीय प्रतिवेदन अनुसार कम्पनीले ८ मेगावाटको परवानीपुर सोलार आयोजना निर्माणको चरणमा रहेको जानकारी दिएको छ।
यता बुटवल पावर कम्पनीले हाल विभिन्न ठूला जलविद्युत् आयोजनाहरूमा लगानी र निर्माण प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले मनाङ मर्स्याङ्दी क्यास्केड आयोजना अन्तर्गत १३५ मेगावाटको मनाङ मर्स्याङ्दी, १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी र ३२७ मेगावाटको माथिल्लो मर्स्याङ्दी-२ जस्ता ठूला आयोजनाहरूमा काम गरिरहेको छ। यी आयोजनाहरू सन् २०२७ को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। साथै, ७.९ मेगावाटको चिनो खोला जलविद्युत् आयोजनाको निर्माण पनि तीब्र गतिमा भइरहेको छ।
वित्तिय विवरण अनुसार तत्कालको नाफा र शेयर आम्दानी खोज्ने लगानीकर्ताका लागि अपि पावरको नतिजा आकर्षक देखिएको छ भने दीर्घकालीन सुरक्षा र बलियो नेटवर्थ चाहनेहरूका लागि बुटवल पावरले आफ्नो विश्वसनीयता पुनः पुष्टि गरेको छ।
दुवै कम्पनीले भावी योजना र चुनौतीहरूलाई पनि समान रूपमा प्रस्तुत गरेका छन्। दुवैले जलवायु परिवर्तनका कारण खोलामा पानीको बहाव घट्ने जोखिमलाई प्रमुख चुनौती मानेका छन्। अपि पावरले नयाँ सोलार आयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको छ भने बुटवल पावरले ठूला आयोजनाका लागि वैदेशिक लगानी र प्रसारण लाइनको समस्यालाई मुख्य रणनीतिक विषय बनाएको छ।













