५ करोडमा खुम्चियो आनन्द राइस एण्ड आयल इन्डस्ट्रिजको व्यापार, ऋण तिर्न नयाँ व्यवस्थापनको सहारा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

५ करोडमा खुम्चियो आनन्द राइस एण्ड आयल इन्डस्ट्रिजको व्यापार, ऋण तिर्न नयाँ व्यवस्थापनको सहारा



काठमाडौं । रूपन्देहीको रोहिणी-३ मा अवस्थित खाद्यान्न प्रशोधन उद्योग ‘आनन्द राइस एण्ड आयल इन्डस्ट्रिज प्रालि’ को व्यावसायिक कारोबारमा ठूलो संकुचन आएको छ । केयर रेटिङ्स नेपालका अनुसार पछिल्ला वर्षहरूमा कम्पनीको आम्दानी र नाफा दुवैमा उल्लेख्य ह्रास आएको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०२३ मा १३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको यस उद्योगको व्यापार २०२४ मा ८ करोड ३० लाखमा झरेको थियो । गत आर्थिक वर्ष २०२५ मा यो अझै घटेर ५ करोड १० लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३८ प्रतिशतको गिरावट हो ।

व्यापार घट्नुका साथै कम्पनीको सञ्चालन नाफा मार्जिन पनि आर्थिक वर्ष २०२४ को १३.८३ प्रतिशतबाट घटेर २०२५ मा ५.३० प्रतिशतमा खुम्चिएको छ ।

कम्पनीले व्यावसायिक सञ्चालन सुरु गरेदेखि नै (आर्थिक वर्ष २०२३ देखि २०२५ सम्म) निरन्तर नगद घाटा व्यहोरिरहेको छ । आम्दानी कमजोर रहे पनि कम्पनीले कुल ८३ करोड ९९ लाख रुपैयाँ बराबरको बैंक कर्जाका लागि रेटिङ गराएको छ ।

यस अन्तर्गत ३७ करोड ९९ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘बी प्लस’ र ४६ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एफाेर’ रेटिङ दिइएको छ । कम्पनीको ऋण र पुँजीको अनुपात आर्थिक वर्ष २०२५ मा ३.९५ गुणा पुगेको छ, जसले कमजोर वित्तीय संरचनालाई दर्शाउँछ ।

कम्पनीको मुख्य उत्पादन ‘सभा राइस’ हो र यसले भुस, ढुटो र टुक्रा चामल जस्ता उप-उत्पादनहरू पनि बिक्री गर्ने गर्दछ । कम्पनीको उद्योग रूपन्देही (तराई क्षेत्र) मा रहेकाले कच्चा पदार्थ संकलनमा भौगोलिक फाइदा पुगेको छ । कम्पनीले आफ्ना उत्पादनहरू रूपन्देहीस्थित फ्याक्ट्रीबाटै सिधै काठमाडौं, पोखरा, बुटवल जस्ता देशका प्रमुख शहरहरू र मुख्य बजार केन्द्रहरूमा वितरण र बिक्री गर्दै आएको छ ।

कम्पनीका सामु सामान खरिद गरेदेखि बिक्री भएको पैसा उठुञ्जेल लाग्ने समय (कार्यगत चक्र) अत्यन्तै लामो हुनु मुख्य चुनौतीको रूपमा देखिएको छ, जुन आर्थिक वर्ष २०२५ मा १,३४५ दिन पुगेको छ। धान जस्तो मौसमी वस्तुको भण्डारण गर्नुपर्ने र बजारमा उधारोमा सामान पठाउनुपर्ने दबाबले गर्दा कम्पनीको नगद प्रवाहमा समस्या परेको हो।

यद्यपि, उद्योगलाई गति दिन हालै १७ वर्षको अनुभव भएका शशांक अग्रवालको नेतृत्वमा नयाँ व्यवस्थापन आएको छ। यो टोलीले आगामी आर्थिक वर्ष २०२६ भित्र उद्योगमा १५ करोड रुपैयाँ थप पुँजी लगानी गर्ने तयारी गरेको छ, जसले बैंकको ऋणभार कम गरी सञ्चालनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्