रिलायबलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले निष्काशन गरेको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ‘रिलायबल समृद्धि योजना २’ मा आवेदन दिने आज जेठ ८ गते अन्तिम दिन रहेको छ । क्यापिटलले गत बैशाख २९ गतेदेखि उक्त फण्डको बिक्री खुला गरेको थियो। मागभन्दा बढी आवेदन परेका कारण निर्धारित समय (जेठ १२ गते) भन्दा अगावै आज बैंकिङ्ग समयपछि यसको निष्काशन बन्द गर्न लागिएको हो। क्यापिटलका अनुसार हालसम्म फण्डका अधिकांश इकाईहरू बिक्री भइसकेका छन् ।
प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहेको यस फण्डमार्फत कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरिएको हो। रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको रहेको छ ।
निष्काशन गरिएको कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित राखिएको छ । जसमा १४ प्रतिशत (१ करोड ४० लाख इकाई) कोष प्रवद्र्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १ प्रतिशत (१० लाख इकाई) योजना व्यवस्थापकलाई छुट्याइएको छ ।
बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो, जसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।
यस फण्डको रेटिङ्ग केयर रेटिङ्ग नेपालले गरेको छ । जसअन्तर्गत कोष प्रवद्र्धक कम्पनीले ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग’ र योजना व्यवस्थापकले ‘केयर एनपी एएमसी क्वालिटि ४ प्लस रेटिङ्ग’ पाएका छन्। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड आफैँले सम्हालेको छ ।
इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखाहरूका साथै सिडिएससीको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइनबाट आज बैंकिङ्ग समयभित्र आवेदन दिन सक्नेछन् ।
















