फ्रुटी र एप्पी उत्पादक कम्पनीको व्यापार ४२ करोड नजिक, सञ्चालन नाफा भने लगातार तेस्रो वर्ष पनि ऋणात्मक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फ्रुटी र एप्पी उत्पादक कम्पनीको व्यापार ४२ करोड नजिक, सञ्चालन नाफा भने लगातार तेस्रो वर्ष पनि ऋणात्मक



काठमाडाैं । पछिल्लाे ३ वर्षयता विशाल ग्रुपअन्तर्गतको पेय पदार्थ उत्पादक कम्पनी ‘साउथ एसियन वेभरेज’ लगातार बढेकाे छ।

पछिल्लाे १ वर्षमा फ्रुटी र एप्पी जस्ता पेय पदार्थ (जुस) बेचेर कम्पनीले पाैने ४२ कराेड रूपैयाँ कमाएकाे छ। कम्पनीको आर्थिक वर्ष २०२५ सम्मको वित्तीय विवरणअनुसार सञ्चालन आम्दानी ४१ करोड ८० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३३ करोड ८० लाख रुपैयाँ थियो।

यसअघि सन् २०२३ मा कम्पनीले ३१ कराेड २० लाख रूपैयाँ बराबरकाे व्यापार गरेकाे थियाे ।

व्यापारमा सुधार देखिए पनि कम्पनीको सञ्चालन नाफा भने लगातार ऋणात्मक रहँदै आएको छ । तीन वर्षअघि अर्थात् सन् २०२३ मा ८.९ प्रतिशत ऋणात्मक रहेको कम्पनीको सञ्चालन नाफा दर, सन् २०२४ मा अझ घटेर ३७.६ प्रतिशत ऋणात्मक पुगेको थियो भने सन् २०२५ मा भने यसमा केही सुधार देखिए पनि अझै २५.३ प्रतिशत ऋणात्मक नै रहेको छ।

बजारमा उत्पादनको माग सोचेअनुरूप नहुँदा र कच्चा पदार्थको मूल्य उच्च हुँदा कम्पनीले निरन्तर सञ्चालन नोक्सानी ब्यहोर्नु परिरहेको छ ।

नाफा मात्र होइन, यसको ऋणको भार र समग्र पूँजीगत संरचना पनि निकै कमजोर देखिएको छ । कम्पनीको कुल ऋण र खुद सम्पत्तिको अनुपात सन् २०२३ र २०२४ मा ३.१ गुणा रहेकोमा सन् २०२५ मा बढेर ४.९ गुणा पुगेको छ ।

त्यस्तै, कुल बाह्य दायित्व र खुद सम्पत्तिको अनुपात पनि सन् २०२५ सम्म आइपुग्दा ५.३ गुणा पुगेको देखिन्छ । निरन्तरको नोक्सानीका कारण कम्पनीको खुद सम्पत्ति घट्दै गएकाले ऋणको भार अत्यधिक थपिएको हो ।

यसका साथै कम्पनीको कार्यशील पूँजी परिचालन र तरलता व्यवस्थापनमा समेत ठूलो दबाब देखिन्छ । सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पूँजीको अनुपात सन् २०२४ मा ८४ प्रतिशतसम्म पुगेकोमा सन् २०२५ मा घटेर ६५ प्रतिशतमा झरेको छ, जुन अझै पनि निकै उच्च हो ।

कम्पनीको चालू अनुपात पछिल्ला तीन वर्षमा क्रमशः ०.८, ०.९ र ०.७ गुणा मात्रै रहेको छ, जसले तत्कालको दायित्व भुक्तानी गर्ने क्षमता कमजोर रहेको देखाउँछ । सामान बिक्री र रकम उठ्ने चक्र लामो हुँदा कम्पनीले उपलब्ध सीमाभन्दा २७२ प्रतिशतसम्म बढी रकम उपयोग गर्नुपरेको छ ।

यसरी निरन्तर नोक्सानी हुनु, ऋणको भार थपिनु र तरलता अभाव हुनुले कम्पनीलाई बैंकको सावाँ-ब्याज भुक्तानीमा समेत कठिनाइ भइरहेको छ र समय-समयमा केही दिन ढिलाइ हुने गरेको छ । यही कमजोर वित्तीय अवस्था र व्यवसाय स्थिर हुन नसक्दा क्रेडिट रेटिङ एजेन्सीले कम्पनीको दीर्घकालीन ऋणको रेटिङलाई घटाएको छ ।

यद्यपि, स्थापित व्यावसायिक घरानाको साथ र नेपालभर रहेको बलियो वितरण सञ्जालले आगामी दिनमा व्यापार बढाउन र अवस्था सुधार्न मद्दत पुग्ने आशा भने जीवितै राखेको छ ।


प्रतिक्रिया दिनुहोस्