अत्यधिक ऋणको भारबीच तङ्ग्रियो पञ्चकन्या स्टीलको व्यापार, एक वर्षमा गर्यो ४ अर्बमाथिको आम्दानी
काठमाडौं । पञ्चकन्या समूहअन्तर्गतको डण्डी उत्पादक कम्पनी ‘पञ्चकन्या स्टील प्राली’ को व्यापार पुनः लयमा फर्किएको छ । पछिल्लो समय बजारमा देखिएको क्रमिक सुधार र मागमा आएको तेजीका कारण कम्पनीको वित्तीय अवस्था बलियो बन्दै गएको हो ।
कम्पनीले एक वर्षमा निर्माण कार्यमा प्रयोग हुने विशेष डण्डी बेचेर ४ अर्ब रूपैयाँभन्दा माथिको आम्दानी गरेको छ । आर्थिक वर्ष २०२४/२५ को वित्तीय विवरणअनुसार कम्पनीको कुल सञ्चालन आम्दानी ४ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ६५ करोड ७० लाख रुपैयाँको तुलनामा १२.५९ प्रतिशतको वृद्धि हो । यसअघि आर्थिक वर्ष २०२२/२३ मा भने कम्पनीले ५ अर्ब ११ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
व्यापारमा सुधार देखिए पनि तीव्र प्रतिस्पर्धा र कच्चा पदार्थको मूल्य उतारचढावका कारण कम्पनीको खुद नाफाको दर भने केही दबाबमा छ । तीन वर्षअघि ९.२८ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा दर, सन् २०२४ मा घटेर ७.८० प्रतिशत पुगेको थियो भने सन् २०२५ मा केही सुधार हुँदै ८.६८ प्रतिशत कायम भएको छ ।
कम्पनीले भारतबाट कच्चा पदार्थ (फलामको बिलेट) आयात गर्ने गर्दछ, जसको लागत कुल सञ्चालन आम्दानीको करिब ७३ प्रतिशत रहेको छ । आयातको भुक्तानी अमेरिकी डलरमा हुने भएकाले विदेशी विनिमय दरको उतारचढावले पनि जोखिम बढाएको छ ।
कम्पनीमा आफ्नै लगानीको तुलनामा बैंकको ऋण निकै बढी देखिएको छ । सन् २०२३ मा आफ्नै १ रुपैयाँ लगानी बराबर ४ रुपैयाँ २ पैसा ऋण रहेकोमा, सन् २०२४ मा त्यो बढेर ४ रुपैयाँ १४ पैसा पुगेको थियो । तर, सन् २०२५ मा कम्पनीले कमाएको नाफा र सञ्चालकहरूले थप पैसा लगानी गरेपछि ऋणको यो भार केही घटेर ३ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
त्यस्तै, कम्पनीले वर्षभरि बचाएको खुद नगदको तुलनामा ऋणको आकार निकै ठूलो अर्थात् ५० गुणाभन्दा बढी (५०.१० गुणा) रहेको छ । यसअघि सन् २०२४ मा भने नगद नोक्सानी ब्यहोरेका कारण ऋण तिर्न सक्ने यस्तो क्षमता ऋणात्मक बनेको थियो ।
यद्यपि, कम्पनीको सम्पत्ति र दायित्वको अनुपात (चालू अनुपात) पछिल्ला तीन वर्षमा क्रमशः १.२२, १.६३ र २.३७ गुणा रहँदै क्रमशः बलियो बन्दै गएको छ । ब्याज भुक्तानी क्षमता पनि सन् २०२४ मा १ गुणाभन्दा तल (०.८९ गुणा) रहेकोमा सन् २०२५ मा ब्याज खर्च घट्दा र नाफा बढ्दा सुधार भई १.२१ गुणा पुगेको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६५ करोड ९२ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ अल्पकालीन गरी कुल ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँ कर्जा उपयोग गरेको छ । अत्यधिक ऋणको भार र सामान बिकेर पैसा उठ्न लाग्ने लामो समयका कारण तरलतामा दबाब रहे पनि पछिल्लो समय आम्दानी र वित्तीय सूचकहरूमा देखिएको सकारात्मक परिवर्तनका कारण कर्जा साख मूल्याङ्कन गर्ने संस्था ‘केयर रेटिङ्ग्स नेपाल’ ले कम्पनीको ऋणको साखलाई सकारात्मक संकेतसहितको निगरानी (क्रेडिट वाच विथ पोजिटिभ इम्प्लिकेसन्स) मा राखेको छ ।
सरकारले सडक, पुल, हवाईअड्डा तथा पूर्वाधार क्षेत्रमा निरन्तर लगानी गर्ने नीति लिएकाले स्वदेशी डण्डी उत्पादकहरूका लागि दीर्घकालीन माग कायम रहने अपेक्षा छ । सन् १९९५ मा स्थापना भएको यस कम्पनीको वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिक टन रहेको छ । पाँच दशकभन्दा लामो इतिहास बोकेको स्थापित व्यावसायिक घराना पञ्चकन्या समूहको बलियो साथ र नेपालभर रहेका ९० भन्दा बढी विक्रेता (डिलर) तथा ७ वटा आफ्नै डिपोहरूको सञ्जालले आगामी दिनमा व्यापार थप सुधार्न मद्दत पुग्ने विश्वास गरिएको छ ।













