सिटिजन लाइफद्वारा नयाँ बीमा नियम लागू गर्न विश्वप्रसिद्ध 'केपीएमजी इन्डिया' सँग सम्झौता - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सिटिजन लाइफद्वारा नयाँ बीमा नियम लागू गर्न विश्वप्रसिद्ध ‘केपीएमजी इन्डिया’ सँग सम्झौता



काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो हिसाबकिताब र वित्तीय प्रतिवेदन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्न एक ठूलो कदम चालेको छ।

नेपाल लेखामान बोर्डले ल्याएको र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (इन्क्यान) मार्फत लागू भएको नयाँ बीमा नियम ‘एनएफआरएस १७’ लाई व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न कम्पनीले विश्वकै प्रतिष्ठित परामर्शदाता संस्था ‘केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपी’लाई नियुक्त गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति पाएपछि सिटिजन लाइफले केपीएमजीलाई आफ्नो आधिकारिक साझेदार (इम्प्लिमेन्टेसन पार्टनर) बनाएको हो। केपीएमजी विश्वभर व्यावसायिक सेवा दिने अग्रणी ‘बिग फोर’ (चार ठूला कम्पनीहरू) मध्ये एक हो। यस संस्थालाई बैंक, बीमा र ठूला कर्पोरेट क्षेत्रमा वित्तीय प्रणाली सुधार, कर व्यवस्थापन र जोखिम मूल्यांकन गर्ने विश्वसनीय साझेदारको रूपमा हेरिन्छ।

विशेषगरी नयाँ र जटिल खालका अन्तर्राष्ट्रिय वित्तीय नियमहरू (IFRS 17/NFRS 17) लागू गराउन केपीएमजीसँग ठूलो अनुभव र प्राविधिक दक्षता छ। दक्षिण एसियाली बजार, विशेषगरी भारतमा यसले लामो समयदेखि काम गरिरहेकाले नेपालजस्तो विकासोन्मुख देशको बजारलाई बुझेर उत्कृष्ट सेवा दिनेमा सिटिजन लाइफ विश्वस्त देखिन्छ।

यो सम्झौता साढे तीन (३.५) वर्षको लागि गरिएको हो। यस अवधिमा केपीएमजीले सुरुवाती चरणमा नयाँ प्रणाली जडान गर्न सघाउने छ भने त्यसपछिको तीन वर्षसम्म सफ्टवेयर र प्रविधि चलाउन निरन्तर प्राविधिक सहयोग (पोस्ट-इम्प्लिमेन्टेसन सपोर्ट) उपलब्ध गराउने छ।

यो साझेदारीबाट सिटिजन लाइफले अन्तर्राष्ट्रिय स्तरको सीप र प्रविधि भित्र्याउने मात्र नभई, ‘नलेज ट्रान्सफर’ (ज्ञान हस्तान्तरण) मार्फत आफ्ना आन्तरिक कर्मचारीहरूको क्षमता समेत बढाउने अवसर पाउनेछ। यो प्रयासले सिटिजन लाइफ इन्स्योरेन्सलाई भविष्यमा अझ बढी पारदर्शी, सुरक्षित र भरपर्दो बीमा कम्पनीको रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्