शिखर इन्स्योरेन्सलाई लगातार दोस्रो वर्ष साफा ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दक्षिण एसियाली लेखापाल महासंघ (साफा) को वार्षिक प्रतिवेदन पुरस्कारमा ‘सर्टिफिकेट अफ मेरिट’ हासिल गरेको छ।
बंगलादेशको राजधानी ढाकामा शनिबार सम्पन्न कार्यक्रममा कम्पनीलाई जनरल इन्स्योरेन्स विधातर्फ उक्त सम्मान प्रदान गरिएको हो। यो उपलब्धिसँगै शिखर इन्स्योरेन्सले लगातार दोस्रो वर्ष साफाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। यस वर्ष उक्त विधामा सम्मानित हुने नेपालका निर्जीवन बीमा कम्पनीमध्ये शिखर एक मात्र कम्पनी बनेको छ।
कम्पनीले गत वर्ष पनि यही पुरस्कार प्राप्त गरेको थियो। उक्त उपलब्धिसँगै साफाबाट अन्तर्राष्ट्रिय स्तरको सम्मान पाउने नेपालकै पहिलो बीमा कम्पनीका रूपमा समेत शिखरले पहिचान बनाएको थियो।
साफाको पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रवर्द्धन समितिले प्रदान गर्ने यस पुरस्कारका लागि संस्थाहरूको वार्षिक प्रतिवेदन, वित्तीय विवरणको विश्वसनीयता, सूचना सम्प्रेषणको पारदर्शिता, संस्थागत सुशासन र सरोकारवालालाई उपलब्ध गराइएको जानकारीको स्तरलगायत पक्ष मूल्यांकन गरिन्छ।
कम्पनीले दोस्रो पटक प्राप्त गरेको यो सम्मानलाई वित्तीय विवरणमा पारदर्शिता कायम गर्ने, संस्थागत सुशासन सुदृढ बनाउने र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्राथमिकता दिने प्रयासको अन्तर्राष्ट्रिय मान्यताका रूपमा लिएको जनाएको छ।
२२ वर्षदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको शिखर इन्स्योरेन्सले क्रेडिट रेटिङ संस्था आईसीआरए नेपालबाट ‘एए माइनस’ रेटिङ प्राप्त गरेको छ। त्यस्तै, कम्पनीको सूचना सुरक्षा व्यवस्थापन प्रणालीले अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ २७००१ को प्रमाणीकरण पनि हासिल गरेको छ।
कम्पनीका अनुसार नेपालको प्राकृतिक प्रकोप तथा अन्य ठूला जोखिमबाट उत्पन्न हुन सक्ने वित्तीय क्षति न्यूनीकरणका लागि कम्पनीले अन्तर्राष्ट्रिय ‘ए’ रेटिङ प्राप्त पुनर्बीमा कम्पनीहरूसँग पुनर्बीमा व्यवस्था गरेको छ। कम्पनीका अनुसार यसले निर्जीवन बीमा क्षेत्रकै उच्चस्तरको विपत्ति पुनर्बीमा सुरक्षा उपलब्ध गराएको छ।














