बजेटको तीव्र पर्खाइ र कर फेरबदलको अड्कलबाजीबीच सुनको भाउमा उछाल, चाँदी पनि महँगियो
काठमाडौं । सरकारले आज (शुक्रबार) अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेट सार्वजनिक गर्दैछ। नयाँ बजेटमा सुनचाँदीको भन्सार महसुल दर र करका नीतिहरू कस्ता आउलान् भन्ने चासो र पर्खाइबीच स्थानीय बजारमा सुनको भाउ उच्च बिन्दुले बढेकाे छ।
शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ। अघिल्लो दिन बिहीबार तोलामा ५ हजार ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि लगभग सोही परिमाणमा बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ तोकिएको छ।
विगत केही समयदेखि सुनको मूल्यले नयाँ-नयाँ कीर्तिमान कायम गर्दै आएको छ। गत हप्ताको शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ थियो। त्यस्तै, गत माघ १५ गते नेपाली सुन बजारको इतिहासमै हालसम्मकै उच्च बिन्दु अर्थात् प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो।
सुनसँगै आज चाँदीको भाउमा पनि वृद्धि भएको छ। चाँदी तोलामा १७५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ। गत शुक्रबार भने चाँदी प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।
व्यवसायी तथा लगानीकर्ताहरू यतिबेला सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको गतिविधिको तुलनामा आज अपराह्न आउने बजेट भाषणतर्फ बढी केन्द्रित छन्। बजेटले सुनचाँदी आयात र करको दायरामा गर्ने नयाँ व्यवस्थाले भोलिदेखि सुनको बजार मूल्य कुन दिशामा जान्छ भन्ने कुरा तय गर्नेछ।













