९ श्रावण २०८३, शनिबार

हिमालयन इन्भेस्टमेन्ट बैंकरको सीईओमा सुवेदी नियुक्त



काठमाडौँ । नेपाली पुँजी बजारमा मर्चेन्ट बैंकिङ व्यवसाय तीव्र प्रतिस्पर्धात्मक बन्दै गइरहेका बेला हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडले आफ्नो व्यावसायिक कमान्ड सम्हाल्ने जिम्मेवारी शैलेश सुवेदीलाई सुम्पेको छ।

कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको हो। जेठ १९ गते बसेको उक्त बैठकले सुवेदीको कार्यक्षमतामाथि भरोसा राख्दै कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउने रणनीतिक जिम्मेवारी दिएको बुझिएको छ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधी हासिल गरेका सुवेदी चार्टर्ड एकाउण्टेन्ट हुन् । उनी यसअघि एनआईबीएल इक्वीटी पार्टनर्सका सहायक महाप्रबन्धक (एजीएम) थिए । त्योभन्दा पहिले साढे ११ वर्षजति उनले देशकै पहिलो रेटिङ एजेन्सी इक्रा नेपालमा काम गरे । त्यहाँ चार वर्षभन्दा बढी त रेडिङ शाखाका प्रमुख भएरै काम गरेका उनले भारतमा सीएको पढाई गरेका हुन् ।

नेप्सेलाई गराइएको जानकारी अनुसार सुवेदीले आगामी २०८३ साल असार १५ गतेभित्र संस्थामा उपस्थित भई आफ्नो कार्यभार सम्हाल्नुपर्नेछ।

इन्भेस्टमेन्ट बैंकिङ क्षेत्रमा लगानीकर्ताको विश्वास जित्नु र बजारमा नवीन वित्तीय उपकरणहरू भित्र्याउनु सधैँ चुनौतीपूर्ण मानिन्छ। बदलिँदो आर्थिक परिदृश्य र नियामक निकायका कडा नीतिका बीच हिमालयन इन्भेस्टमेन्ट बैंकरले सुवेदीको नेतृत्वमा आफ्नो बजार हिस्सा बलियो बनाउने रणनीति लिएको देखिन्छ।

चार वर्षे कार्यकालका लागि शीर्ष ओहोदामा चुनिएका सुवेदीले आगामी दिनमा संस्थाको वित्तीय स्वास्थ्य सुधार्न र सेवाग्राहीलाई आकर्षित गर्न कस्ता योजना अगाडि सार्छन् भन्ने कुराले विशेष महत्त्व राख्नेछ।


प्रतिक्रिया दिनुहोस्