बीमा दाबी भुक्तानीमा समस्या भए प्रमाणसहित उजुरी दिन प्राधिकरणको आग्रह - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

बीमा दाबी भुक्तानीमा समस्या भए प्रमाणसहित उजुरी दिन प्राधिकरणको आग्रह



काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीका क्रममा कुनै समस्या वा अनियमितता भएको भए प्रमाणसहित उजुरी दिन सरोकारवालालाई आग्रह गरेको छ।

प्राधिकरणले सोमबार सूचना जारी गर्दै बीमाको दायित्व निर्धारण तथा दाबी भुक्तानीका क्रममा केही बीमक, बीमा कम्पनीका कर्मचारी, बीमा सर्भेयर वा अन्य पक्षबाट प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिताविपरीत कार्य भएको भन्ने गुनासा प्राप्त भइरहेकाले त्यस्ता घटनाको जानकारी गराउन आह्वान गरेको हो।

सूचनाअनुसार कुनै बीमा कम्पनी, उसका कर्मचारी, बीमा सर्भेयर वा अन्य सम्बन्धित पक्षले सेवाग्राहीलाई दुःख दिएको, गलत विवरण तयार गरेको, तथ्य लुकाएको वा तोडमोड गरेको, पक्षपातपूर्ण मूल्याङ्कन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै गैरकानुनी कार्य गरेको पाइएमा बीमा ऐन, २०७९ बमोजिम कारबाहीका लागि प्रमाणसहित उजुरी दिन सकिनेछ।

उजुरी दर्ता गर्दा उजुरीकर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको विवरण, बीमा दाबी नम्बर, बीमालेख नम्बर तथा दाबी पुष्टि गर्ने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण संलग्न गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार उजुरी प्रत्यक्ष रूपमा दर्ता शाखामा दर्ता गर्न सकिनेछ। साथै इमेल वा हुलाकमार्फत पनि केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ।

प्राधिकरणले प्राप्त हुने उजुरी तथा प्रमाणको गोपनीयता कायम राख्दै बीमा ऐन, २०७९ र अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्