घरजग्गा कारोबारबाट ६१ अर्ब ६५ करोड राजस्व संकलन, कर बढ्नुअघि ह्वात्तै बढ्यो किनबेच - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

घरजग्गा कारोबारबाट ६१ अर्ब ६५ करोड राजस्व संकलन, कर बढ्नुअघि ह्वात्तै बढ्यो किनबेच



काठमाडौँ । गत आर्थिक वर्ष २०८२र८३ मा सरकारले घरजग्गा कारोबारबाट ६१ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व सङ्कलन असार महिनामा भएको देखिन्छ।

असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने भएपछि असारमा कारोबार वृद्धि भएको घरजग्गा व्यवसायीहरू बताउँछन् ।

विभागले वर्षभरको राजस्व सङ्कलनको विवरण उपलब्ध गराएको छ । विवरणअनुसार गत वैशाखमा रु ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबर राजस्व सङ्कलन भएको थियो । यो उक्त आवको दोस्रो धेरै राजस्व सङ्कलन हो ।

यस्तै, २०८२ साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबर राजस्व सङ्कलन भएको थियो । भदौमा केही घटेर ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३३५ बराबरमात्रै प्राप्त भएको थियो ।

यस्तै, असोज र कात्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो । असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र कात्तिकमा रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो ।

गत मङ्सिरमा रु चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२, पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख १४ हजार २२२ बराबर राजस्व सङ्कलन भएको थियो । माघमा रु पाँच अर्ब ९९ लाख २४ हजार ५३६ र फागुनमा रु चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रकम घरजग्गा कारोबारबाट प्राप्त भएको थियो ।

गत चैतमा रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७, वैशाखमा रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ र जेठमा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो ।

गत असारमा भने कारोबारमा उल्लेख्य सुधार भएपछि राजस्व सङ्कलनमा पनि वृद्धि भएको थियो । साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमा नै भएपछि कारोबारमा वृद्धि भएको अनुमान गरिएको छ । सोही कारण गत असारमा रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ राजस्व सङ्कलन भएको विभागको विवरणमा समावेश छ।


प्रतिक्रिया दिनुहोस्