दुई महिनापछि हिमालयन रि-इन्स्योरेन्सलाई नयाँ व्यवसायको बाटो खुल्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दुई महिनापछि हिमालयन रि-इन्स्योरेन्सलाई नयाँ व्यवसायको बाटो खुल्यो



काठमाडौं । दुई महिनाअघि नयाँ व्यवसाय गर्न लगाइएको अस्थायी रोक हटेसँगै हिमालयन रि–इन्स्योरेन्सले पुनः नयाँ व्यवसाय गर्न पाउने भएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा नेपाल बीमा प्राधिकरणले कम्पनीलाई निश्चित अवधिसम्म नयाँ व्यवसाय स्वीकार गर्न रोक लगाएको थियो। तर उक्त निर्णय पूर्ण प्रतिबन्ध भने थिएन। प्राधिकरणले यसअघि नै सम्झौता भइसकेका व्यवसाय सञ्चालनमा भने कुनै रोक लगाएको थिएन।

प्राधिकरणले थप अवधि प्रतिबन्ध लम्ब्याउने निर्णय नगरेकाले अस्थायी रोक स्वतः सकिएकाे हाे ।

प्राधिकरणले वैशाख मसान्तमा हिमालयन रिलाई असार मसान्तसम्म मात्रै नयाँ व्यवसाय स्वीकार गर्न नपाइने व्यवस्था गरिएको थियो। सो अवधिपछि प्रतिबन्ध थप गर्ने कुनै नयाँ निर्णय नभएकाले कम्पनीले पुनः नयाँ व्यवसाय गर्न सक्ने भएको हाे ।

यद्यपि, नयाँ व्यवसायको बाटो खुले पनि कम्पनीले गर्दै आएको एउटा महत्वपूर्ण व्यवसाय भने गुमाएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुल बीमासम्बन्धी पुनर्बीमाको जिम्मेवारी अब नेपाल रि–इन्स्योरेन्सलाई दिने व्यवस्था गरेको छ। यससँगै उक्त व्यवसाय हिमालयन रिबाट नेपाल रि–इन्स्योरेन्समा सरेको छ।


प्रतिक्रिया दिनुहोस्