८ श्रावण २०८३, शुक्रबार

१ खर्बभन्दा बढी बिगो दाबीसहित १२१ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा



काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले गत आर्थिक वर्ष २०८२/८३ मा सम्पत्ति शुद्धीकरणको कसूरमा १२१ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार ७ वटा मुद्दामा १२१ जनालाई प्रतिवादी बनाइएको हो भने उनीहरूबाट १ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ बराबरको बिगो असुल गर्न मागदाबी गरिएको छ।

यस्तो छ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तथ्यांक

विभागका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा हुने वित्तीय लगानीसँग सम्बन्धित सूचना प्राप्त भएपछि त्यसलाई स्क्रिनिङ कमिटीमार्फत प्रारम्भिक मूल्याङ्कन गरिन्छ। आवश्यक ठहरिएमा अनुसन्धान अधिकृत तोकी औपचारिक अनुसन्धान प्रक्रिया अघि बढाइन्छ।

अनुसन्धान तथा अभियोजन कार्यलाई व्यवस्थित बनाउन विभागमा चार वटा अनुसन्धान शाखा सञ्चालनमा छन्। यिनका अतिरिक्त कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा तथा प्रहरी शाखाले समेत अनुसन्धान प्रक्रियामा सहकार्य गर्दै आएका छन्।

विभागले विशेषगरी राजस्व चुहावट, भन्सार, अन्त:शुल्क तथा व्यापारसँग सम्बन्धित मनी लाउन्डरिङ र सम्पत्ति शुद्धीकरणका कसुरमा अनुसन्धान केन्द्रित गरेको जनाएको छ।

वार्षिक विवरणअनुसार पछिल्लो समय विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्ययन, अनुसन्धान, तहकिकात र अभियोजन प्रक्रियालाई थप प्रभावकारी र तीव्र बनाएको छ। यसको उद्देश्य अवैध वित्तीय कारोबारमाथि निगरानी बढाउँदै कानुनी कारबाहीलाई प्रभावकारी बनाउनु रहेको विभागको भनाइ छ।

नेपाल हाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा रहेकाले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानलाई थप तीव्र बनाउनुपर्ने विज्ञहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्