१० श्रावण २०८३, आइतबार

होङ्सी शिवम् सिमेन्टको व्यावसायिक पुनरागमन: व्यापार १३ अर्ब २४ करोड नाघ्यो, नगद मौज्दात ३ अर्ब माथि



काठमाडौँ । करिब ८ वर्षअघि अर्थात् २०७५ साल जेठदेखि पूर्वी नवलपरासीमा उत्पादन सुरु गरेको नेपालको सबैभन्दा ठूलो एकीकृत सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्ट प्रालिले पछिल्ला वर्षहरूमा बजार विस्तारसँगै आफ्नो वित्तीय अवस्था पनि पनि सुदृढ बनाउँदै गएकाे छ।

पछिल्ला वर्षहरूमा कम्पनीकाे सञ्चालन नाफामा सुधार देखिनुका साथै बैंक ऋण घट्दै जानु र ब्याज तिर्ने क्षमता बलियो बन्दै जानुले कम्पनीको समग्र वित्तीय अवस्था थप सुदृढ भएको देखिएको छ।

यद्यपी सिमेन्ट उद्योगमा बढ्दो प्रतिस्पर्धा, केही ठूला ग्राहकमै बढी निर्भरता र बजारको सुस्त मागका कारण पछिल्ला वर्षहरूमा कम्पनीकाे व्यापारमा निकै उतारचढाव देखिएकाे छ।

आर्थिक वर्ष २०२२ मा १६ अर्ब २० करोड ८० लाख रुपैयाँको उच्च व्यापार गरेको कम्पनीले त्यसपछिका दुई वर्षमा देशको सुस्त आर्थिक गतिविधि र निर्माण क्षेत्रको मन्दीका कारण ठूलो गिरावट सामना गर्नुपर्‍यो। जसका कारण २०२३ मा व्यापार घटेर १३ अर्ब ४ करोड ३० लाख र २०२४ मा अझ तल ओर्लिएर १० अर्ब ९६ करोड ७० लाख रुपैयाँमा सीमित हुन पुग्यो।

तर, आर्थिक वर्ष २०२५ मा आइपुग्दा कम्पनीले बजारमा अभूतपूर्व पुनरागमन गरेको छ। सिमेन्टको बजार मूल्यमा भएको सुधार र कुशल व्यवस्थापनका कारण यो वर्ष व्यापार २१ प्रतिशतले बढेर १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ पुग्यो। व्यापार तङ्ग्रिने यो क्रम सन् २०२६ मा पनि उत्तिकै बलियो रूपमा कायम छ, जहाँ आर्थिक वर्षको सुरुवाती ९ महिनामै कम्पनीले १० अर्ब ३१ करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ।

व्यापारमा आएको सुधारसँगै कम्पनीको सञ्चालन नाफामा पनि उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०२४ मा १८.८ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन एक वर्षमै बढेर २९.१ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो अझै बढेर ३१ प्रतिशत पुगेको छ।

त्यसैगरी, कम्पनीले पछिल्ला वर्षहरूमा आफ्नो ऋण भार पनि उल्लेखनीय रूपमा घटाउँदै लगेको छ। आर्थिक वर्ष २०२२ मा ऋण र स्वपुँजीको अनुपात ०.३७ गुणा रहेकामा २०२३ मा ०.३० गुणा, २०२४ मा ०.२६ गुणा, २०२५ मा ०.१७ गुणा र चालु आर्थिक वर्षको पहिलो नौ महिनामा झरेर ०.१५ गुणामा पुगेको छ। यसले कम्पनी विस्तारका लागि बैंक ऋणमा निर्भरता क्रमशः घट्दै गएको र आफ्नै स्रोतबाट व्यवसाय सञ्चालन गर्ने क्षमता बढेको देखाउँछ।

अर्कोतर्फ, कम्पनीले आफ्नो कुल ऋणको भारलाई घटाउँदै वित्तीय जोखिमलाई न्युनतम विन्दुमा ल्याएको छ।आर्थिक वर्ष २०२२ मा ऋण र स्वपुँजीको अनुपात ०.३७ गुणा रहेकामा २०२३ मा ०.३० गुणा, २०२४ मा ०.२६ गुणा, २०२५ मा ०.१७ गुणा र चालु आर्थिक वर्षको पहिलो नौ महिनामा झरेर ०.१५ गुणामा पुगेको छ। यसले कम्पनी विस्तारका लागि बैंक ऋणमा निर्भरता क्रमशः घट्दै गएको र आफ्नै स्रोतबाट व्यवसाय सञ्चालन गर्ने क्षमता बढेको देखाउँछ।

ऋण घटेसँगै कम्पनीको ब्याज तिर्ने क्षमता पनि निकै बलियो बनेको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको ब्याज तिर्ने क्षमता १०.१३ गुणा रहेकोमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामै बढेर २२.१५ गुणा पुगेको छ।

नगद व्यवस्थापनतर्फ पनि कम्पनी सुदृढ अवस्थामा देखिएको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनासम्म कम्पनीसँग करिब ३ अर्ब २० करोड रुपैयाँ नगद तथा बैंक मौज्दात रहेको छ ।

हाल कम्पनीले कुल ६ अर्ब रुपैयाँ बराबरको अल्पकालीन बैंक ऋणको सीमा उपयोग गरिरहेको छ। यो ऋण दायित्वका लागि रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई सुरक्षित मानिने ‘इक्राएनपी ए टु प्लस” रेटिङ प्रदान गरेकाे छ।

यद्यपि, कम्पनीका लागि केही चुनौती भने अझै कायम छन्। बजारमा सिमेन्ट उद्योगबीच बढ्दो प्रतिस्पर्धा, निर्माण क्षेत्रको सुस्त माग, केही ठूला ग्राहकमा उच्च निर्भरता तथा सिमेन्टको मूल्यमा हुन सक्ने उतारचढावले आगामी दिनमा कम्पनीको व्यापार र नाफामा प्रभाव पार्न सक्ने प्रतिवेदनले औँल्याएको छ।

यी चुनौतीका बाबजुद ठूलो उत्पादन क्षमता, बलियो प्रवर्द्धक समूह, सुधारिँदै गएको नाफा, घट्दो ऋण भार, पर्याप्त नगद सञ्चिति र सुदृढ वित्तीय अवस्थाका कारण होङ्सी शिवम सिमेन्टको समग्र वित्तीय अवस्था भने अझै मजबुत देखिन्छ।