लघुवित्त पीडितको ‘राजधानी मार्च’, माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी
लघुवित्त पीडितको ‘राजधानी मार्च’, माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी
काठमाडौं। लघुवित्त संस्थाबाट लिएको कर्जा, उच्च ब्याजदर र ऋण असुलीको तरिकाबाट समस्यामा परेको भन्दै विभिन्न जिल्लाका लघुवित्त पिडितहरू काठमाडौंमा भेला भएका छन्। उनीहरूले आइतबार राजधानी केन्द्रित प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
लघुवित्त पीडितहरूको मार्च काठमाडौंको बल्खुबाट सुरु भएको थियो। नाराबाजीसहित अघि बढेको टोली भद्रकाली पुगेर कोणसभामा परिणत भयो। सभामा सहभागीहरूले लघुवित्त कर्जाका कारण धेरै परिवार आर्थिक संकटमा परेको बताउँदै तत्काल समस्या समाधानका लागि सरकारसँग पहल गर्न माग गरे।
प्रदर्शनमा महिला, वृद्धवृद्धा तथा स्वास्थ्य समस्या भएका व्यक्तिहरूको समेत उल्लेख्य उपस्थिति देखिन्छ। केही महिलाहरूले काखे बच्चा साना बालबालिका बोकेरै लामो दूरीको पैदल यात्रामा सहभागिता भएका थिए।
भद्रकालीको कार्यक्रमपछि आन्दोलनकारीहरू सुन्धारा क्षेत्रमा पुगेका छन्। विभिन्न जिल्लाबाट आएका सहभागीहरूको बसोबासको उचित व्यवस्था नभएपछि उनीहरू सार्वजनिक स्थल र खुला स्थानमा रात बिताउने तयारी गरिरहेका बताइएको छ।
लघुवित्त पीडितहरूले कर्जा पुनर्संरचना गर्नुपर्ने, अनुचित ब्याज र जरिवाना हटाउनुपर्ने, दबाबपूर्ण असुली प्रक्रिया रोक्नुपर्ने तथा लघुवित्त क्षेत्रका समस्या समाधानका लागि दीर्घकालीन नीति बनाउनुपर्ने माग अघि सारेका छन्।
सरकारले आफ्ना मागप्रति गम्भीर पहल नगरेसम्म काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने चेतावनी उनीहरूले दिएका छन्।













