मञ्जुश्री फाइनान्सको १० करोडको संस्थापक सेयर बिक्रीमा, यसरी दिनुहोस् आवेदन
मञ्जुश्री फाइनान्सको १० करोडको संस्थापक सेयर बिक्रीमा, यसरी दिनुहोस् आवेदन
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको करिब १० करोड रुपैयाँ बराबरको सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले कुल ८ लाख ३९ हजार ५८३ कित्ता संस्थापक सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संस्थालाई आवेदन दिन आह्वान गरेको हो।
कम्पनीले प्रत्येक कित्ताको न्यूनतम बिक्री मूल्य १२० रुपैयाँ निर्धारण गरेको छ। यस आधारमा बिक्रीमा राखिएको सेयरको कुल न्यूनतम मूल्य १० करोड ७ लाख ४९ हजार ९६० रुपैयाँ पुग्नेछ।
सूचनाअनुसार योग्य व्यक्ति तथा संगठित संस्थाले साउन १८ गतेसम्म आवेदन पेश गर्न सक्नेछन्। आवेदन कम्तीमा ५० हजार कित्ताका लागि दिनुपर्नेछ भने सोभन्दा माथि १० ले भाग जाने संख्यामा वा अधिकतम उपलब्ध सम्पूर्ण सेयरसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस सेयर बिक्रीको व्यवस्थापन एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ। बोलपत्र फाराम १०० रुपैयाँ शुल्क बुझाएर एनआइएमबि एस क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।
आवेदकले आफूले खरिद गर्न चाहेको सेयरको कुल मूल्यको कम्तीमा ५ प्रतिशत बराबरको धरौटी रकम जम्मा गरेको प्रमाण आवेदनसँग अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्राप्त भएका शिलबन्दी बोलपत्र साउन १९ गते दिउँसो ३ बजे खोलिनेछन्। यदि बिक्रीका लागि उपलब्ध सेयरभन्दा बढी माग परेमा, प्राप्त आवेदनका आधारमा समानुपातिक प्रणालीबाट सेयर बाँडफाँड गरिनेछ।













