समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताको बचत फिर्ता, प्राथमिकतामा को–को परे ?
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित विभिन्न सहकारी संस्थाका थप ४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ। समितिले सहकारीको सम्पत्ति तथा दायित्व व्यवस्थापन ऐन, २०७५, अदालतबाट जारी निर्देशनात्मक आदेश तथा नेपाल सरकारको निर्णयअनुसार बचत फिर्ता प्रक्रिया अघि बढाइरहेको जनाएको हो।
समितिका अनुसार बचत फिर्ता वितरण गर्दा निश्चित प्राथमिकता मापदण्ड अपनाइएको छ। ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, स्वीकृत चिकित्सकबाट प्राणघातक रोग लागेको प्रमाणित भएका बचतकर्ता, एकल महिला तथा पूर्ण अशक्त वा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर रकम फिर्ता गरिँदै आएको छ।
यस्तै, एक लाख रुपैयाँभन्दा बढी बचत भएका बचतकर्ताका हकमा एकपटकमा कुल बचतको बढीमा ५० प्रतिशत वा अधिकतम पाँच लाख रुपैयाँसम्म फिर्ता गर्ने व्यवस्था लागू गरिएको समितिले जनाएको छ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार २०८३ असार ५ गते कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका ३७ जना, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ४ जना, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३ जना, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका २ जना र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका २ जना गरी ४८ जना बचतकर्तालाई रकम फिर्ता गरिएको हो।
ती बचतकर्ताले प्रतिव्यक्ति अधिकतम दुई लाख पचास हजार रुपैयाँसम्म बचत फिर्ता पाएका छन्। समितिले बचतकर्ताबाट प्राप्त निवेदन र मागदाबीको अध्ययन गरी प्राथमिकताका आधारमा चरणबद्ध रूपमा बचत रकम फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइने जनाएको छ।














