११ श्रावण २०८३, सोमबार

‘गौँथली’ फिल्मको उत्साहजनक व्यापार, पहिलो साताकै कमाई झण्डै साढे ७ करोड



काठमाडौं । नेपाली फिल्म ‘गौँथली’ले प्रदर्शनको पहिलो सातामै उल्लेखनीय व्यापार गर्दै बक्स अफिसमा बलियो उपस्थिति जनाएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबार राति १० बजेसम्म फिल्मले ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ ग्रस आम्दानी गरेको छ।

बोर्डको विवरणअनुसार हालसम्म यो फिल्म हेर्ने दर्शक संख्या २ लाख ६० हजार २५४ पुगेको छ। साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्रलाई निर्देशक डा. कपिल रिजालले निर्देशन गरेका हुन्।

पहिलो साताको व्यापारसँगै ‘गौँथली’ यस वर्ष नेपाली चलचित्रमध्ये दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। हाल शीर्ष स्थानमा रहेको ‘लालीबजार’ ले ९ करोड ३२ लाख रुपैयाँ ग्रस आम्दानी गरेको छ। ‘गौँथली’ले पछिल्ला दिनमा पनि उत्साहजनक व्यापार गरिरहेकाले यो रेकर्ड चाँडै उछिन्ने अनुमान गरिएको छ।

प्रदर्शन सुरु हुँदा करिब २०० शो प्राप्त गरेको फिल्मले अहिले २५० भन्दा बढी शो पाउन थालेको छ। धेरैजसो हलमा दर्शकको उपस्थिति बढ्दै जाँदा शो संख्या विस्तार गरिएको हो। सुरुआती दिनमा मध्यम रहेको दर्शक उपस्थिति पछिल्ला दिनमा उल्लेखनीय रूपमा बढ्दै कतिपय हलमा हाउसफुलसम्म पुगेको बताइएको छ।

फिल्मको प्रचार अभियानलाई निरन्तरता दिँदै कलाकार र निर्माण टोली देशका विभिन्न सिनेमा हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। काठमाडौं उपत्यकासहित मोफसलका हलहरूमा पनि उनीहरूले दर्शकको प्रतिक्रिया संकलन गरिरहेका छन्।

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय रहेको छ।

डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको विषयवस्तुमा आधारित फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन्।