बचत फिर्ताको माग गर्दै काठमाडौँका सडकमा सहकारी पीडितको प्रदर्शन
काठमाडौं। बचत रकम फिर्ता गर्न माग गर्दै सहकारी बचतकर्ता काठमाडौंका सडकमा उत्रिएका छन्। सोमबार सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आह्वानमा आयोजित प्रदर्शनमा सहभागीहरूले बचतकर्तामाथि विभेद नगर्न, सबै बचतकर्तालाई समान व्यवहार गर्न तथा बचत फिर्ताको सुनिश्चित व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
प्रदर्शन माइतीघरबाट सुरु भई बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयसम्म पुगेको थियो। त्यसपछि उनीहरू पुच्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणतर्फ अघि बढेका थिए। आन्दोलनमा सहभागीहरूले यसअघि सरकारसँग भएको सहमतिको प्रतिलिपिसमेत साथमा बोकेका थिए।
प्रदर्शनका क्रममा बचतकर्ताले बचत फिर्ता, सहकारी पीडितलाई न्याय, निक्षेपको सावाँ र ब्याज भुक्तानी तथा सहकारी क्षेत्रमा हुने ठगी नियन्त्रणको माग राख्दै विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए।
आन्दोलनरत बचतकर्ताको आरोप अनुसार सरकारले बचत फिर्ताको प्रक्रियामा साना र ठूला बचतकर्ताबीच फरक व्यवहार गरेको छ। यस्तो विभेद अन्त्य गरी सबै बचतकर्ताको रकम फिर्ता हुने स्पष्ट र प्रभावकारी व्यवस्था गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।













