१२ श्रावण २०८३, मंगलबार

सिंहदरबारमा शीतयुद्ध : प्रधानमन्त्रीको एकल भेटघाटको ‘काउन्टर’मा अर्थमन्त्रीले बोलाए तीन दर्जन उद्योगपति



प्रधानमन्त्रीले निजी क्षेत्रसँगका भेटघाटमा आफूलाई बेवास्ता गरेको चर्चाबीच अर्थमन्त्री वाग्लेले तीन दर्जन प्रतिष्ठित उद्योगपतिलाई एकसाथ सिंहदरबार डाकेर छलफल गर्ने भएका छन्।

काठमाडौं । मुलुकको कार्यकारी प्रमुख र अर्थतन्त्रको ‘डाडु–पन्यौ’ बोक्ने अर्थमन्त्रीबीचको सम्बन्धमा आएको चिसोपन अब सिंहदरबारको बन्द कोठाबाट छताछुल्ल हुन थालेको छ।

पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच नीतिगत मात्र होइन, कार्यशैलीगत मतभेदसमेत सतहमा आउन थालेको राजनीतिक वृत्तमा चर्चा छ। यसैको ज्वलन्त उदाहरणका रूपमा अर्थमन्त्री वाग्लेले आज अपराह्नका लागि आह्वान गरेको निजी क्षेत्रका उद्योगपतिहरूसँगको बाक्लो बैठकलाई हेरिएको छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय निरन्तर रूपमा विभिन्न व्यावसायिक घराना, उद्योगी तथा सरोकारवालाहरूलाई एक्लै भेटघाट गर्दै आएका छन्।

असार अन्तिम सातादेखि साउन पहिलो सातासम्म प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघ, परिसंघ, चेम्बर अफ कमर्सदेखि निर्माण व्यवसायी, बैंकर्स, होटल व्यवसायी, महिला उद्यमी, जुत्ता उत्पादक, पुँजी बजारका प्रतिनिधि, तयारी पोसाक, हस्तकला र चिया उद्योगीहरूसँग एकपछि अर्को गर्दै शृंखलाबद्ध संवाद गरेका थिए।

तर, अर्थतन्त्रको प्रत्यक्ष जिम्मा लिएका अर्थमन्त्री वाग्लेलाई भने ती महत्त्वपूर्ण भेटघाटहरूमा बेवास्ता गरियो । प्रधानमन्त्रीको यो एकलौटी अभ्यासप्रति अर्थमन्त्रीको गम्भीर असन्तुष्टि रहेको र त्यसैको मौन प्रतिवादस्वरूप आजको यो बैठक आयोजना भएको धेरैको बुझाई छ।

बजेट कार्यान्वयनको आवरण

अर्थ मन्त्रालयले आजको बैठकलाई पूर्ण रूपमा प्राविधिक र नीतिगत विषयसँग जोडेको छ। मन्त्रालयले यसलाई ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ नाम दिएको छ। अर्थमन्त्रीको सचिवालयका अनुसार चालु आर्थिक वर्षको बजेट सार्वजनिक भएपश्चात् पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिहरूसँग औपचारिक र सामूहिक संवाद हुन लागेको हो।

आज अपराह्न ३ बजेदेखि सुरु हुने यो उच्चस्तरीय छलफलमा नेपालको उत्पादनमूलक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आएका झन्डै तीन दर्जन प्रतिष्ठित उद्योगपतिहरूलाई सिंहदरबार बोलाइएको छ। बजेटमा समेटिएका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन, उद्योगीहरूले भोगिरहेका व्यावहारिक सास्ती र उत्पादन वृद्धि गरी शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने उपायहरूमाथि गहन परामर्श हुने भनिएको छ।

बैठकमा अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलगायत महत्त्वपूर्ण महाशाखाका उच्च अधिकारीहरूको समेत उपस्थिति रहनेछ। मन्त्रालयले यसलाई सरकार र निजी क्षेत्रको सहकार्यलाई मजवुत बनाउने कडीका रूपमा प्रस्तुत गरे पनि राजनीतिक गलियारामा भने यसलाई प्रधानमन्त्रीको एकल भेटघाटविरुद्धको सांकेतिक ‘काउन्टर’का रूपमा अर्थ्याइएको छ।

बढ्दो दुरी र आगामी चुनौती

प्रधानमन्त्रीले व्यावसायिक क्षेत्रलाई सीधै कार्यकारी तहमा समेट्दै लैजानु र अर्थमन्त्रीले आफ्नो कार्यक्षेत्रभित्र पर्ने यो दायरा खुम्चिएको महसुस गर्नुले राज्य सञ्चालनको ‘टिम वर्क’मा दरार उत्पन्न भइरहेको संकेत गर्छ। अर्थतन्त्र गम्भीर मोडमा रहेको र यसलाई उकास्न निजी क्षेत्रको मनोबल उच्च राख्नुपर्ने बेला सरकारका दुई प्रमुख स्तम्भबीच देखिएको यो आन्तरिक द्वन्द्वले नीतिगत अन्योल थपिदिने जोखिम बढ्नसक्छ।

अर्थमन्त्री वाग्लेले प्राविधिक रूपमा बजेट कार्यान्वयनको पर्दा पछाडिबाट यो भेटघाटलाई नियमित प्रक्रियाका रुपमा अर्थ्याए पनि यसको समय र शैलीले प्रधानमन्त्रीलाई ‘जवाफ दिन खोजेको’ सन्देश प्रष्ट छ।

यद्यपि, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै कतिपय नेताहरुका अनुसार यो घटना प्रधामन्त्रीको ‘काउण्टर’ नभएर अर्थमन्त्रीको ‘फेस सेभिङ’ पनि हुनसक्छ । यस्तो धारणा राख्नेमध्येका एक सांसदले अर्थपथसँग भने, ‘प्रधानमन्त्री ज्यूले सबैसँग छलफल गरेर कयौँ निर्देशनहरु कार्यान्वयन गर्न विभागीय मन्त्रालयमा पठाउनुहुन्छ । त्यस्ता निर्देशनको फटाफट कार्यान्वयन गर्नुअघि अर्थमन्त्री ज्यूले आफू पनि एक राउण्ड छलफल गर्न चाहनुभएको हुनसक्छ ।’

यसरी अर्थमन्त्रीले छलफल गरेपछिमात्रै प्रधानमन्त्रीको सचिवालयबाट आएका निर्देशन कार्यान्वयनमा जाँदा अर्थमन्त्री वाग्लेले आफ्नो अहं र अस्तित्व ‘बर्करार छ’ भन्ने देखाउन खोजेको हुनसक्ने उनले बताए ।

कार्यकारी नेतृत्व र विभागीय मन्त्रीबीच सिंहदरबारभित्रै देखिएको यो शीतयुद्धले आगामी दिनमा सरकारका आर्थिक तथा विकासका एजेन्डालाई कसरी प्रभावित पार्छ, त्यो भने हेर्न बाँकी नै छ। तर, एउटा कुरा भने प्रष्ट भएको छ- अर्थतन्त्रको स्टेयरिङ कसले र कसरी चलाउने भन्ने विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीबीचको मतभेद अब खुल्ला रूपमा देखिन थालेको चर्चा रास्वपा भित्र र बाहिर पनि बढ्दै छ।