१२ श्रावण २०८३, मंगलबार

चर्को घामले तहसनहस बनाएको एक्सपेङ्गको एयर सस्पेन्सन, ३३ हजारभन्दा बढी आधुनिक गाडी बजारबाट फिर्ता



अत्यधिक गर्मीका कारण गाडीको एयर सस्पेन्सन प्रणालीमा अप्रत्याशित समस्या देखिन थालेपछि प्रख्यात अटोमोबाइल निर्माता कम्पनी एक्सपेङ्गले बजारबाट आफ्ना हजारौँ अत्याधुनिक सवारीसाधन फिर्ता मगाउने निर्णय गरेको छ।

काठमाडौँ । पछिल्लो समय मुख्य सडकहरूमा गुडिरहेका बेला गाडीका तल्लो भाग वा च्यासिस अचानक एकापट्टि झुक्ने वा बस्ने समस्या चालकहरूले भोग्न थालेका थिए। विशेष गरी उच्च तापक्रम र गर्मी हुने क्षेत्रहरूमा यो समस्याले विकराल रूप लिन थालेपछि नियामक निकायमा गुनासोहरूको बाढी नै लागेको थियो।

सुरुवाती दिनहरूमा कम्पनीले यसलाई सामान्य तापक्रम सुरक्षा प्रणालीको रूपमा ब्याख्या गर्दै कम्प्रेसर तातेका कारण यस्तो भएको दाबी गरेको थियो। तर प्रयोगकर्ताका गुनासाहरू तीव्र रूपमा बढेपछि गरिएको गहिरो प्राविधिक छानबिनमा गाडीको मुख्य हार्डवेयरमै त्रुटि रहेको रहस्य खुलेको छ।

चिनियाँ बजार नियमन निकायको कागजातअनुसार एक्सपेङ्गले आफ्नो चर्चित विलासी एमपीभी एक्स९ का ३३ हजारभन्दा बढी थान गाडीहरू फिर्ता अभियानमा समेटेको छ।

सन् २०२३ को अगस्ट महिनादेखि सन् २०२५ को अगस्ट महिनाको बीचमा उत्पादन भएका कुल ३३ हजार ४ सय ७३ वटा सवारीसाधन यो दायराभित्र पर्छन्। आगामी अगस्ट अन्त्यदेखि नै आधिकारिक रूपमा यी गाडीहरूको प्राविधिक जाँच र पार्टपुर्जा फेर्ने काम सुरु हुनेछ।

जटिल त्रुटि र सुरक्षा जोखिम

उत्पादनको सिलसिलमा देखिएको सामान्य उतारचढावका कारण अगाडिको भागमा रहेको हावा भरिने स्प्रिङको हावा थाम्ने क्षमतामा असर पुगेको पाइएको छ। चर्को घाम र तातो हावापानीमा लगातार गाडी कुदउँदा उक्त भागबाट हावा बिस्तारै चुहिन थाल्ने र यसले गाडीको सन्तुलन बिग्रने जोखिम औंल्याइएको छ।

चालकले ड्यासबोर्डमा अनपेक्षित चेतावनीयुक्त सङ्केतहरू सामना गर्नुपर्ने अवस्था आएपछि कम्पनी यो कदम चाल्न बाध्य भएको हो। यात्राकै क्रममा स्टेरिङ तथा नियन्त्रण प्रणालीमा प्रत्यक्ष असर पर्ने भएकाले यसलाई ठूलो सुरक्षा खतराको रूपमा हेरिएको छ।

यो जटिल समस्याको पूर्ण निराकरणका लागि कम्पनीसँग सम्बन्धित लगानी इकाईले प्रभावित सम्पूर्ण गाडीहरूमा परिष्कृत नयाँ स्प्रिङ स्लाइड पिलर एसेम्ब्ली निःशुल्क फेरिदिने प्रबन्ध मिलाएको छ। यो आधिकारिक घोषणा हुनुअघि नै आफ्नो पहलमा मर्मत गराइसकेका सवारीधनीलाई भने फेरि धाउनुपर्ने छैन।

ठूलो सात सिटे परिवार लक्षित यस अत्याधुनिक गाडीले बजारमा प्रवेश गरेदेखि नै राम्रो प्रभाव जमाए पनि पछिल्लो प्राविधिक त्रुटिले यसको लोकप्रियतामा केही धक्का पुर्याएको छ। यसअघि पनि स्टेरिङ मोटरको खराबीका कारण ठूलो संख्यामा अन्य सिरिजका गाडीहरू बजारबाट फिर्ता ल्याउनुपरेको विडम्बनापूर्ण पृष्ठभूमि कम्पनीसँग जोडिएको छ।